विराटनगर । शहरी विकास तथा भवन निर्माण विभागअन्तर्गत सङ्घीय आयोजना कार्यान्वयन एकाइ कार्यालयले निर्माण गरेको गोरखापत्र संस्थानको प्रादेशिक कार्यालय भवन आज एक समारोहबीच हस्तान्तरण गरेको छ ।
एकाइका प्रमुख प्रदीपकुमार सिंह र निर्माण कम्पनी ‘लामा खुस्बु जेभी’का दीपक पौडेलले संस्थानका प्रशासकीय प्रमुख मोहम्मद जैनउल हकलाई सो भवन हस्तान्तरण गरे । मोरङको विराटनगर–१९ बैजनाथपुरमा निर्माण गरिएको उक्त भवनमा प्रशासनिक कार्यालय, समाचार कक्ष, आवास, चमेनागृह, सुरक्षा गार्ड भवनलगायत व्यवस्था छ । सो भवन रु सात करोड ४७ लाखको लागतमा निर्माण गरिएको हो ।
गोरखापत्र संस्थानका कार्यकारी अध्यक्ष कृष्णमुरारी भण्डारीले आगामी असोज ३ गते संविधान दिवसका दिनदेखि विराटनगरबाट गोरखापत्र प्रकाशन आरम्भ गर्ने जानकारी दिए । उनले पत्रिका समयमै पाठकको हातमा पुगेन भने त्यसको खासै अर्थ नहुने बताए । विराटनगर महानगरपालिकाका प्रमुख भीम पराजुलीले गोरखापत्रको प्रादेशिक प्रकाशनको तयारीबाट आफू उत्साहित भएको बताए । उनले महानगरले सक्दो सहयोग गर्ने बताए ।
कार्यक्रममा प्रजिअ रमेश केसी, गोरखापत्र दैनिकका प्रधान सम्पादक श्रीओम श्रेष्ठ, शहरी विकास सङ्घीय आयोजना कार्यान्वयन एकाइ प्रमुख प्रदीपकुमार सिंह, निर्माण कम्पनीका दीपक पौडेललगायतले आ–आफ्नो धारणा राखेका थिए ।