प्रदेश १ मा ‘म अघि बढ्छु’ कार्यक्रम शुभारम्भ « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

प्रदेश १ मा ‘म अघि बढ्छु’ कार्यक्रम शुभारम्भ


३१ असार २०७६, मंगलबार


विराटनगर । सगरमाथा टिन्स क्लबको स्थापना गरेर प्रदेश नं १ सरकारले ‘म अघि बढ्छु’ कार्यक्रमको आज एक समारोहबीच शुभारम्भ गरेको छ । मोरङको जैन भवनबाट शुभारम्भ गरिएको सो कार्यक्रमअन्तर्गत प्रदेशका १४० विद्यालयमा एकसाथ कार्यक्रम प्रारम्भ भई एकै दिनमा १५ हजार विद्यार्थी यसका सदस्य बनेका छन् ।

प्रदेश सरकारको आर्थिक वर्ष २०७५/७६ को वार्षिक बजेट तथा नीति कार्यक्रममा उल्लिखित सो कार्यक्रमअन्तर्गत प्रदेशभरिमा दुई हजार विद्यालयमा सगरमाथा टिन्स क्लब स्थापना गरी दुई लाख विद्यार्थीलाई आबद्ध गराएर लागुऔषध, दुव्र्यसन र यसको ओसारपसारविरुद्ध जनचेतनाको कार्यक्रम सञ्चालन गरी स्वस्थ, स्वच्छ, चरित्रवान् र असल नागरिक निर्माण गर्ने प्रदेश सरकारको लक्ष्य हो ।

‘आजका किशोरकिशोरी देशका कर्णधार, यिनीहरुको सक्षमता नै समृद्धिको आधार’ मूलमन्त्र रहेको कार्यक्रमको प्रदेश नं १ आन्तरिक मामिला तथा कानून मन्त्रालयबाट सञ्चालन गरिएको छ । मुख्यमन्त्री शेरधन राईले कार्यक्रमको शुभारम्भ गर्दै स्वस्थ र सुन्दर समाज निर्माण गर्न यो कार्यक्रमले नेतृत्वदायी भूमिका निर्वाह गर्ने बताए ।

उनले भने, ‘हामीले व्यवस्था मात्र होइन सिङ्गै प्रणालीलाई नै रुपान्तरण गरिसकेका छौँ, सभ्य र सुन्दर समाज निर्माण गर्न युवाहरुलाई समाहित गर्न यो कार्यक्रम ल्याइएको होे ।’ उनले लागुऔषधको प्रयोग र कारोवारले युवाहरु बढी प्रभावित हुने भएकाले यसलाई बचाउन यो अभियानले निकै मद्दत गर्ने उल्लेख गर्दै उनले अभियान सङ्गठित तथा सशक्त रुपमा अघि बढ्ने विश्वास व्यक्त गरे ।

आन्तरिक मामिला तथा कानूनमन्त्री हिक्मतकुमार कार्कीले समाजलाई नकारात्मक दिशाबाट असल दिशामा लैजान युवाहरुको भूमिका अग्रणी भएकाले यो कार्यक्रम ल्याइएको चर्चा गरे । उनले लागुऔषधजस्ता पदार्थले परिवार मात्र नभई राष्ट्र नै बर्बाद हुने भएकाले यसलाई निर्मूल पार्नु आजको आवश्यकता रहेको बताए ।

आर्थिक मामिला तथा योजनामन्त्री इन्द्रबहादुर आङ्बोले युवालाई असल मार्गमा डोेर्‍याउनु राज्यको कर्तव्य भएकाले नै यो कार्यक्रम ल्याइएको बताए । समाजिक विकासमन्त्री जीवन घिमिरेले असल र योग्य नागरिक निर्माण गर्न यो अभियानले मद्दत गर्ने विश्वास व्यक्त गरे ।

प्रदेश नं १ का प्रमुख सचिव सुरेश अधिकारी र प्रदेशसभा सदस्य जयराम यादवले किशोरावस्थामा टेक्न लागेकालाई सचेतनाको माध्यमबाट असल काम गर्न यो अभियानले बल पुर्‍याउने चर्चा गरे । आन्तरिक मामिला तथा कानून सचिव भरतमणि रिजाल र हिसानका केन्द्रीय उपाध्यक्ष भेषराज पोखरेल, शिक्षक धर्मानन्द खरेलले विद्यार्थीलाई लक्षित गरी ल्याइएको यो कार्यक्रमबाट शैक्षिक जागरण र समाजप्रतिको उत्तरदायित्व बोध गर्न टेवा पुग्ने आशा व्यक्त गरे ।

Tags :
प्रतिक्रिया दिनुहोस