मोरङमा बाढीबाट ७५५ घर डुबान « प्रशासन
Logo १५ बैशाख २०८१, शनिबार
   

मोरङमा बाढीबाट ७५५ घर डुबान


२७ असार २०७६, शुक्रबार


विराटनगर । लगातारको वर्षाले मोरङमा ठूलो सङ्ख्यामा मानिस विस्थापित भएका छन् । विगत एक सातादेखि परेको पानीले मोरङमा ७५५ घरपरिवार पूर्णरुपमा डुबानमा परी तीन हजार १३ जना विस्थापित भएका जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक घनश्याम श्रेष्ठले जानकारी दिए ।

विस्थापित हुनेमा विराटनगर महानगरपालिका अन्तर्गत वडा नं १, २, ४, ७, ८, १२, १९ र १५ तथा जहदा गाउँपालिका वडा नं १ का घरपरिवार रहेका छन् । प्रहरीका अनुसार विस्थापित परिवारलाई महानगरपालिका वडा नं ८ ले ५० थान त्रिपालको व्यवस्था गरेको छ । यसैगरी अन्य पीडित परिवारलाई सम्बन्धित वडा कार्यालयमार्फत राहत उपलव्ध गराउने काम भइरहेको छ ।

बाढीले कटहरी गाउँपालिकामा एक जनालाई बाढीले बेपत्ता बनाएको र निजको खोजतलास जारी रहेको प्रहरीको भनाइ छ । निजको सम्बन्धमा विस्तृत विवरण प्राप्त नभएको प्रहरीले जनाएको छ । राहत र उद्धार कार्यका जनपद प्रहरी, सशस्त्र प्रहरी, रेडक्रस, जनप्रतिनिधि तथा स्थानीय जनसमुदायको सहभागिता रहेको छ । बाढीबाट भएको क्षतिको विवरण आउन बाँकी रहेको प्रवक्ता श्रेष्ठले जानकारी दिए ।

सुकुम्बासी टोल डुबानमा

अविरल वर्षाका कारण विराटनगर र कटहरी गाउँपालिका भएर बग्ने सिंघिया खोलामा आएको बाढीले कटहरी गाउँपालिकाका–१ का दुई टोल डुबानमा परेका छन् । झझैउरा र बखु टोलका ३० सुकुम्बासीका घर डुबानमा परेका छन् ।

घर डुबानमा परेपछि सुकुम्बासी परिवारको विचल्ली भएको छ । बाढीले घरमा बस्न र खाना पकाएर खान सक्ने अवस्था नरहेकाले आफ्ना ससाना बालबच्चालाई कता लग्ने भन्ने पिरले सताएको पीडितले बताएका छन् । उक्त वडाका वडाध्यक्ष कपुर माझीले आफूहरु राहतको काममा लागिरहेको र उनीहरुलाई छिटोभन्दा छिटो सुरक्षित स्थानमा लगेर खाद्यान्नको व्यवस्था गराउने बताए ।

Tags :
प्रतिक्रिया दिनुहोस