पहिरोका कारण बिरामी समस्यामा « प्रशासन
Logo ७ बैशाख २०८१, शुक्रबार
   

पहिरोका कारण बिरामी समस्यामा


२७ असार २०७६, शुक्रबार


रामपुर । लगातारको वर्षाले जनजीवन कष्टकर बनेको छ । पाल्पाको रामपुरदेखि विभिन्न क्षेत्रमा पुग्ने सडक कच्ची भएका कारण आवतजावतमा समस्या बनेको हो । रामपुरदेखि तानसेन, बुटवल, भिमाद, तनहुँ हुँदै कास्की पोखरा तथा नवलपुर हुँदै नारायणगढ तथा काठमाडौंँ जान आउन समस्या भएको छ ।

जताततै कच्ची मोटरबाटो छ । तत्काल पहिरो हटाउन पनि समस्या छ । यसबाट यात्रुले सास्ती व्यहोर्नुपरेको छ । निस्दी गाउँपालिका बेलडाँडा रिङ्दी क्षेत्र, पूर्वखोला गाउँपालिका वडा नम्बर १ वासुका क्षेत्रमा झरेको पहिरो हटाउन डोजरबाट काम भए पनि पहिरो निरन्तर झरेको र पानी परिराखेका कारण समस्या भएको जव्गाडी प्रहरी चौकीका हवल्दार मेघराज बेल्वासेले जानकारी दिए।

ठाउँठाउँमा पहिरो खसेर बाटो अवरुद्ध हुँदा बिरामीलाई तानसेन, बुटवल तथा तथा अन्यत्रका अस्पतालमा लैजानसमेत समस्या भएको रामपुर यातायात व्यवसायी समिमि अध्यक्ष राजन पोखरेलले गुनासो गरे । ‘पहिरो जानेबित्तिकै सडक विभाग तथा विभिन्न स्थानीय तहमा कुरा राख्यौँ, समयमै पहिरो हटाउनेतर्फ ध्यान गएन, यात्रुलाई सास्ती छ ।’

रामपुरबाट एम्बुलेन्समा बिरामी राखेर काठमाडौं लैजाँदै गर्दा पहिराले रोकिनुपरेको रामपुरका राजेन्द्रप्रसाद लम्सालले बताए । बिरामीलाई एम्बुलेन्समा राखेर लुम्बिनी मेडिकल कलेज प्रभास तानसेन लैजाँदै गर्दा बाटामै करीब तीन घण्टा रोकिनुपरेको उनले बताए ।

सम्बन्धित निकायले समयमै बाटो मर्मत गर्ने र पहिरो हटाउने काम नहुँदा मानिसको अकालमै ज्यानसमेत जान सक्ने भएकाले यसतर्फ ध्यान दिन उनले आग्रह गरे । रामपुर मोहटीका कृष्ण विकले पनि एम्बुलेन्समा सुत्केरी लिएर तानसेन लैजाँदै गर्दा बाटामा नै करीब तीन घण्टाभन्दा बढी रोकिनुपरेको बताए ।रासस

Tags :
प्रतिक्रिया दिनुहोस