चार विधेयक पारित « प्रशासन
Logo १० मंसिर २०७८, शुक्रबार
   

चार विधेयक पारित


२५ असार २०७६, बुधबार


काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली काङ्ग्रेस र राष्ट्रिय जनता पार्टी (राजपा) का सांसदको विरोधका बीच बसेको प्रतिनिधिसभाको आजको बैठकमा चार विधेयक पारित भएको छ ।

अपराह्न १ बजेका लागि बोलाइएको सभाको बैठक डेढ घण्टापछि २ः३० बजे मात्र शुरु भएको थियो । सभामुख कृष्णबहादुर महराले बैठकको कारबाही शुरु गर्नेबित्तिकै दुवै दलका सांसदले उठेर विरोध जनाएका थिए ।

सभामुख महराले पटक पटक बस्न अनुरोध गरे पनि सांसद नबसेपछि बैठकको कारबाही शुरु भएको थियो । विरोधमा उत्रिएका सांसदले भने वेल घेराउ गर्दै ‘मानव अधिकारको रक्षा गर’ भन्ने नारा लगाएका थिए । सर्लाही घटनाका विषयमा मङ्गलबार प्रतिनिधिसभा बैठकमा गृहमन्त्री रामबहादुर थापाले दिएको जवाफ चित्त नबुझेपछि विरोध हुँदै आएको छ ।

विरोधका बीच भएको बैठकमा प्रतिनिधिसभामा उत्पत्ति भई राष्ट्रियसभामा गएका ‘विनियोजन विधेयक, २०७६’, ‘आर्थिक विधेयक, २०७६’, ‘राष्ट्र ऋण उठाउने विधेयक, २०७६’ र ‘ऋण तथा जमानत (तेइसौँ संशोधन) विधेयक, २०७६’ राष्ट्रियसभाबाट पारित भएको जानकारी सचिव गोपालीनाथ योगीले दिएका थिए । राष्ट्रियसभाको अर्को बैठक यही असार ३० गते अपराह्न १ बजे बस्ने छ ।

Tags :
प्रतिक्रिया दिनुहोस