वडावासीलाई निःशुल्क रगत « प्रशासन
Logo १६ चैत्र २०८०, शुक्रबार
   

वडावासीलाई निःशुल्क रगत


२५ असार २०७६, बुधबार


लम्की । कैलालीको जानकी गाउँपालिका–५ का जनप्रतिनिधिले आफ्ना वडाका नागरिकलाई रगत निःशुल्क उपलब्ध गराउने भएका छन् । वडाध्यक्ष भीमबहादुर चौधरी र नेपाल रेडक्रस सोसाइटीबीच मङ्गलबार रगत निःशुल्क उपलब्ध गराउने विषयमा सहमति भएको छ ।

उक्त सहमतिमा नेपाल रेडक्रस सोसाइटी टीकापुर शाखाका सभापति जगदीश्वर पण्डित र वडा नं ५ का वडाध्यक्ष भीमबहादुर चौधरीले हस्ताक्षर गरेका छन् । सहमतिअनुसार रेडक्रसले वडा नं ५ का नागरिकलाई निःशुल्क रगत उपलब्ध गराउने र वडाले चौमासिक रूपमा प्रयोग भएको रगतको आधारमा रेडक्रसलाई भुक्तानी दिनेछ ।

निःशुल्क रगत उपलब्ध गराएवापत वडाले प्रतिप्रिन्ट रु ८५० का दरले रेडक्रसलाई रकम उपलब्ध गराउनेछ । “रगत मानवतासँग जोडिएको विषय हो, वडावासी कसैले रगत अभाव भएर ज्यान गुमाउनु नपरोस् भन्ने हो”, वडाध्यक्ष चौधरीले भने, “थारू समुदायलाई लाग्ने सिकलसेल ठूलो समस्या हो, यसका लागि पनि रगत चाहिन्छ । यसबाहेक सुत्केरी महिला, रक्तअल्पतालगायत अन्य रोगबाट ग्रसित बिरामीलाई रगत अभाव हुन नदिन यो कार्यक्रम ल्याएको हौँ ।”

रक्तसञ्चार केन्द्र टीकापुरले वर्षेनी एक हजार ४०० प्रिन्ट रगत आपूर्ति गर्ने गरेको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस