वर्षात् शुरु भएसँगै सुनसान सौराहा « प्रशासन
Logo १२ बैशाख २०८१, बुधबार
   

वर्षात् शुरु भएसँगै सुनसान सौराहा


२४ असार २०७६, मंगलबार


चितवन । वर्षात् शुरु भएसँगै पर्यटकीय क्षेत्र सौराहा सुनसान हुन थालेको छ । विगतका वर्षको तुलनामा यो मौसममा निकै कम पर्यटक आएको व्यवसायीले बताएका छन् ।

क्षेत्रीय होटल सङ्घ चितवनका कार्यवाहक अध्यक्ष दीपक भट्टराईका अनुसार असार महीना शुरु भएदेखि पर्यटकको सङ्ख्या निकै कम छ । उनका अनुसार गाडीबाट आउने पर्यटक दैनिक ५० जनासम्म पुग्न मुस्किल भएको छ । समूहमा आउने पनि कम छन् ।

गत वर्ष यतिबेला दैनिक १५० भन्दा बढी पर्यटक गाडीमा आउने गर्दथे । पर्यटक अस्वभाविक रुपमा कम आएपछि कतिपय होटलले मजदूरलाई खेत रोपाइँमा जान बिदा दिन थालेका छन् ।

विसं २०७२ साल अघिसम्म यो मौसम होटलले मजदूरलाई छुट्टी दिने गरेका थिए । त्यसपछिका वर्षमा बिदा नदिएको भए पनि यस वर्ष केही होटलले पर्यटक निकै कम भएपछि मजदूरलाई बिदा दिन थालेका हुन् । होटलमा पर्यटक नहुँदा मजदूरलाई खुवाएर पाल्नुको सट्टा घरको काम गर्न बिदा दिएपछि खुवाउने खर्च जोगिने गर्दछ ।

सङ्घका महासचिव राममणि खनालले सशस्त्र द्वन्द्वको समयमा जस्तै गरी पर्यटकमा कमी आएको बताए । विसं २०५८ देखि २०६४ सालसम्म पर्यटक आगमनमा निकै कमी आएको थियो । त्यसैलाई झझल्को दिने गरी पर्यटक आगमनमा गिरावट आएको खनालले जानकारी दिए । गर्मी बढेको, अन्यत्र क्षेत्र विस्तार भएको, निकुञ्जभित्रको गतिविधिमा हुने कमीलगायतका कारण पर्यटक आगमनमा गिरावट आएको अनुमान गरिएको छ ।

सौराहामा ११० वटा पर्यटकीय होटल रहेका छन् । यी होटलहरुमा २ हजार ७५० जना पर्यटक बस्न सक्ने क्षमता रहेको छ । आर्थिक वर्षको मसान्तको समयमा पर्यटकमा निकै कमी आएपछि होटललाई बैंकको ब्याज र किस्ता भुक्तानीमा समेत समस्या देखिएको छ ।

चितवन राष्ट्रिय निकुञ्ज र मध्यवर्ती सामुदायिक वनमा घुम्ने पहिलो उद्देश्य लिएर यहाँ पर्यटक आउने गर्दछन् । अहिले आएका न्यून पर्यटक चिनियाँ, भारतीय र नेपाली छन् । सौराहा आउने पर्यटकहरुको बसाइ पनि निकै कम हुने गरेको छ ।

वर्षायाममा जङ्गल सफारी नहुने र वर्षाको कारण हिँडडुल गर्न पनि कठिनाइ हुने हुँदा पर्यटक एक दिन बसेर फर्किने गर्दछन् । यही असार २१ बाट जङ्गल सफारी बन्द गरिएको छ ।

दुई वर्षअघि वर्षाले सौराहाका अधिकांश होटल डुबानमा परेपछि पर्यटकको उद्धार गर्नुपरेको थियो । वर्षाका कारण मुग्लिन–नारायणगढ खण्डको सडकमा पटकपटक पहिरो जाने गरेकाले पनि पर्यटकहरुले चितवन भ्रमणलाई प्राथमिकतामा नराखेको व्यवसायीहरु बताउँछन् ।

Tags :
प्रतिक्रिया दिनुहोस