भाद्र २ गते, २०७६

टिस्युकल्चर प्रविधिबाट उत्पादन गरिएका केराका बिरुवाप्रति बढ्दो आकर्षण

कञ्चनपुर । कञ्चनपुर कृष्णपुर–५ सुर्दशनपुरका सुरेन्द्र चौधरीले टिस्युकल्चर प्रविधिबाट तयार गरिएको केराको बिरुवा बिक्री गरेर राम्रो आम्दानी लिन सफल भएको छ ।

टिस्युकल्चर प्रविधिबाट केराका बिरुवा उत्पादन गरेका चौधरी उक्त प्रविधिबाट उत्पादित बिरुवाले राम्रो प्रतिफल दिने बताउछन् । टिस्युकल्चर प्रविधिलाई प्रथमिकता दिएका चौधरीले यो प्रविधिले उत्पादन गरिएका केराका बिरुवा गत वर्ष बिक्री गरेर रु ३४ लाख आम्दानी गरे। जसबाट उनले लागत खर्च सबै कटाएर रु १० लाख नाफा गरे।

यो प्रविधिले उत्पादन गरिएका बीउ र बिरुवामा जातीय शुद्धता कायम रहने गरेको उनले बताए । ५ वर्षदेखि काठमाडौँबाट विलियम र जी नाइन जातको केराको ‘क्रुन’ ल्याई घरमै बनाएको नर्सरीमा केराका बिरुवा तयार पारेर बिक्री गर्दै आइरहेका चौधरीले यो वर्ष आफ्नो नर्सरीमा ८५ हजार केराका बिरुवा तयार गरेका छन् । प्रति बिरुवा रु ४० मा बिक्री भइरहेको उनले बताए ।

‘गत वर्ष नर्सरीमा एक लाख १० हजार बिरुवा उत्पादन गरेका थियौँ’, उनले भने, ‘त्यो बिरुवा रु ४४ लाखमा बिक्री गरेका थियौँ ।’ मागका आधारमा केराका बिरुवा उत्पादन गर्दै आएका चौधरीले यस वर्ष थोरै माग आएकाले थोरै बिरुवा उत्पादन गरिएको जानकारी दिए ।

काठमाडौँबाट केराको क्रन प्रतिबोट रु २० मा खरीद गरेर ल्याउने र त्यसलाई नर्सरीमा हुर्काएर व्यावसायिक केरा खेती गर्ने किसानलाई उपलब्ध गराउँदै आएका चौधरीले आफ्नै खेतबारीमा पनि केरा रोपेर त्यसबाट राम्रो आम्दानी लिँदै आएका छन् ।

नर्सरीमा उत्पादित केराका बिरुवा कैलाली र कञ्चनपुरका किसानले खरीद गरेर नर्सरीबाटै लैजाने गरेका छन् । गैरसरकारी संस्थाबाट तालीम लिएर चौधरीले टिस्युकल्चर प्रविधिबाट केराका विरुवा नर्सरीमा हुर्काउँदै आएका छन् ।

व्यावसायिक रुपमा केराको खेती गर्ने कृषकहरुको सङ्ख्यामा वृद्धि हुँदै गएकाले टिस्युकल्चर गरिएका केराका बिरुवाको माग पनि वर्षेनी बढ्दै गएको उनको भनाइ छ ।

केरा खेतीबाट वार्षिक अठार लाख आम्दानी

टिस्युकल्चर प्रविधिबाट केराको बिरुवा उत्पादन गरी त्यसको बिक्रीबाट मनग्य आम्दानी गर्न सफल भएका चौधरीले १६ बिघा जग्गा लिजमा लिएर केरा खेतीगर्दै आएका छन् । उक्त खेतीबाट उनले वार्षिक रुपमा रु १६ लाखदेखि रु १८ लाखसम्म आम्दानी गर्दै आएका छन् । “यो वर्ष हावाहुरीले केरा खेतीमा ठूलो नोक्सानी गरेको छ’, चौधरीले भने, ‘हावाहुरीले केरा खेतीमा गरेको नोक्सानीका कारण यो वर्ष रु १५ लाख मात्र आम्दानी भएको छ ।’

‘जग्गा लिजमा लिए वापत प्रतिबिघा वार्षिक रुपमा रु २८ हजारदेखि रु ३० हजारसम्म भाडा तिर्नुपरेको छ’, उनले भने, ‘केरा खेती हेरचाहका लागि १२ जनाले प्रत्यक्ष रोजगार पाएका छन् ।’ विसं २०६४ देखि केरा खेतीमा सङ्लग्न चौधरीले पहिलो वर्ष आफूसँग रहेको छ कट्टा जग्गाबाट केरा खेती शुरु गरेको बताए ।

विगतमा ट्याक्टर चालकका रुपमा काम गरेको चौधरीले भने, ‘दिनभरी ट्याक्टरमा काम गरेर पनि परिवारको खर्च धान्न मुस्किल हुन्थ्यो, अहिले केरा खेतीमा सङ्लग्न भएपछि १३ जनाको परिवार पाल्न कुनै कठिनाइ भएको छैन ।’ काँचो केरा खेतबारीबाटै प्रति दर्जन रु २८ देखि रु ३२ सम्म थोक व्यापारीले खरीद गरेर लाने गरेका छन् । व्यापारीले बारीबाटै केरा उठाउने भएकाले बजारको समस्या नभएको उनको भनाइ छ ।

असार २३ गते, २०७६ - १६ः२३ प्रकाशित

प्रतिकृया लेख्नुहोस्:

gsdfs dfg