हामीले परिकल्पना गरेको लोकतन्त्र यहीं हो ? « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

हामीले परिकल्पना गरेको लोकतन्त्र यहीं हो ?


२३ असार २०७६, सोमबार


प्रजातन्त्र प्राप्तिको लडाइमा हजारौँ सहिद भए सयौँ घाइते अनि लाखौँ घरबार विहीन। विश्वको इतिहासमा कुनै पनि देशमा प्रजातन्त्रको सङ्घर्ष पटक पटक भएर समृद्ध भएका होईनन । अमेरिका, चीन, जापान, भारत जस्ता विकासको फड्को मार्दै गरेका देशमा एक पटक प्रजातान्त्रिक आन्दोलन भए र तिनीहरू विकासको बाटोमा दौडिए। नेपाल मात्रै एउटा यस्तो देश हो, जहाँ प्रजातन्त्रका लागि धेरै सङ्घर्ष र आन्दोलनहरू भए जसलाई लोकतन्त्र, प्रजातन्त्र जे नाम दिए पनि कुरा एउटै छ तर जनताको हातमा शून्य ।

आन्दोलन गर्ने नारा परिवर्तन गरिन्छन्, नेतृत्वका पात्र उहीँ हुन्छन् भने ती पात्रहरूका राजनैतिक जन्मदाता अर्थात् विदेशी प्रभुहरूको नेपाल नीति फरक हुँदैन उद्देश्य एउटै हुन्छ तर षड्यन्त्र अनेक। ती विदेशीहरू नेपालमा विकास चाहन्नन् किनकि यो सँग विश्वको राजनैतिक,आर्थिक, सांस्कृतिक र धार्मिक ध्रुवीकरण जोडिएको छ जसले २००७ यता नेपालमा अस्थिरता मात्रै बनाउन खोजिएको छ।

हामीले २००७ साल हेर्‍यौँ प्रजातन्त्र भनियो। हामीले २०४६ हेर्यौं प्रजातन्त्रको पुनर्बहाली भनियो अनि २०६२/६३ हेर्यौं शिशु प्रजातन्त्रको हत्या गरियो र लोकतन्त्र नामकरण गरियो। व्यवस्था उहीँ छ, पात्र उनै छन् भने जनताका पीडा झनझन गहिराइमा चुर्लुम्म हुँदैछन।

राजसंस्था विहीनको लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्थाले सैद्धान्तिक रूपले जनतालाई सपनाका थुप्रै आकाङ्क्षाहरू दिइयो तर सपनामै सीमित रहन पुग्यो। के लोकतन्त्रमा काल्पनिक सपनाहरूलाई संस्थागत नगरी लोकतन्त्र संस्थागत होला र ? के यसैलाई लोकतन्त्र ठान्ने ? नेतामुखी शासन व्यवस्था हुनु लोकतन्त्र होर ? अनियमितता गरी अपुत सम्पत्ति कमाएर राजधानीमा महल जोड्नु लोकतन्त्र हो र ? वैदेशिक रोजगारको नाममा देशका मेरुदण्ड भनिने युवशक्ती विदेश पठाउनु कस्तो लोकतन्त्र हो ? निजीकरणको नाममा विदेशीलाई भएका उद्योगहरू कौडिको भाउमा बेचेर बेरोजगार सिर्जना गर्नु लोकतन्त्र हो र ? छिमेकीले सिमाना मिच्दा, विदेशी सेना, प्रहरी हतियार सहित आएर नेपाली मार्दा सुरक्षा चासो नदिनु, कुन खालको राष्ट्रवादी चिन्तन हो ? के यसैलाई लोकतन्त्र मान्नु पर्छ र ?

हिन्दुरास्ट्र हुँदा नेपालको विकास रोकिएको भए धर्मनिरपेक्षता पछि धार्मिक रूपले सधैँको लागि विभेदरहितको समाज निर्माण भयो र ? एउटा राजा हुँदा समस्या देख्ने ती आखाहरुले अहिलेका हजारौँ नवराजाहरुलाई समस्या नदेख्ने नजरहरू कमजोर भएकै हुन र ? के राजसंस्था पछिको लोकतन्त्रको उपलब्धि यसैलाई ठान्ने ? नेपालमा अहिले सम्म जतिपनि आन्दोलनहरू भए त्योसँग जोडिएर आउने मुद्दा हो नागरिकता । विदेशीहरूलाई विभिन्न बहाना गरी नेपाली नागरिकता दिने र नेपालीहरूलाई वैदेशिक रोजगारको नाममा विदेश धपाउने रणनीतिका साथ नेपालका नेताहरूलाई किनिसकेका छन्। नेपालमा हुने आन्दोलनहरूको उत्थानको जग विदेशमा बनेका छन् र विदेशमै टुंग्याईएका छन् हामीले देखिसक्यौँ र भोगिरहेका पनि छौँ।

भनिदिनुस् कोही बताईदिनुस हामीलाई नेपाली जनताले आफ्नो अधिकार प्राप्तिको लडाइ विदेशीहरूलाई नेपाली नागरिकता दिनलाई लडेका हुन र ? पक्कै पनि होईनन तर त्यसो हुन पुग्यो। जनता र नेतृत्व  लिनेहरूको बाटो एउटै, गन्तव्य फरक रहेछ आज हामीलाई लाग्यो र बुझ्यौँ।

यहाँ उत्पादन क्षेत्रमा लगानी किन हुँदैन ? यदि उत्पादनमा लगानी गरेमा बेरोजगारहरूले रोजगार पाउँछ अनि विदेश जाँदैन र विदेशी प्रभुको ग्राण्ड डिजाइनमा असर पर्छ भन्ने मनसायले उत्पादनमा लगानी नगर्नु कुन प्रकारको लोकतन्त्र हामीले हात पार्यौं ? विदेशीहरूको बजार बनाई रहेको हाम्रो देशमा आफ्नै देशभित्र उत्पादन हुने बस्तुहरूमा विदेशबाट निर्यातमा रोक नलगाई हाम्रै उत्पादनको वस्तु कुहाउने षड्यन्त्र हाम्रै विरुद्ध हुने कस्तो–कस्तो लोकतन्त्र हो ?

हाम्रो राष्ट्र भाषा नेपाली हो राष्ट्र भाषा बोल्दा हिन्दी नबोलेको भन्दै मधेसमा कुटाई खाने पनि हिजो गणतन्त्र ल्याउन लडेका नागरिक हुन । के यो हाम्रै देशभित्र हाम्रै संविधानले मान्यता दिएको राष्ट्र भाषा बोल्दा कुटाई खान ल्याइएको लोकतन्त्र होर ?

Tags :
प्रतिक्रिया दिनुहोस