छात्रा मात्र पढ्ने ऐतिहासिक विद्यालय « प्रशासन
Logo १६ चैत्र २०८०, शुक्रबार
   

छात्रा मात्र पढ्ने ऐतिहासिक विद्यालय


२२ असार २०७६, आइतबार


School

नेपालगञ्ज । तराई क्षेत्रमा पर्ने बाँकेको सदरमुकाम नेपालगञ्जमा विगतमा मधेशी समुदायको मात्र बसोबास थियो । समुदायका अभिभावक छोरीलाई विद्यालय पठाउँदैनथे । विस्तारै छोरीलाई पनि पढाउनुपर्छ भन्ने चेतना बढ्न थालेपछि समुदायका अगुवा मिलेर सरस्वती माध्यमिक विद्यालय खोल्न प्रस्ताव गरे र सरकारीस्तरबाट छात्रा मात्र अध्ययन गर्न पाउने सरस्वती माध्यमिक विद्यालय नेपालगञ्जमा स्थापना गरियो ।

हो, यही सरस्वती विद्यालयमा विगत ७७ वर्षदेखि छात्राले मात्र अध्ययन गर्न पाउँछन् । “छोरीलाई विद्यालय पढाउनुपर्छ, तर एउटा छुट्टै विद्यालय चाहिन्छ भनेर शिक्षाप्रेमी स्व केदारनाथ टण्डन र स्व रामगोपाल टण्डनको सक्रियतामा विसं १९९८ मा सरस्वती विद्यालय स्थापना गरिएको थियो”, नेपालगञ्जका ७१ वर्षीय समाजसेवी विष्णुलाल कुम्हालको भनाइ छ ।

त्यसताका बाँकेमा छोरालाई मात्र पढाउनु पर्छ भन्ने मान्यता थियो । छोरीलाई छोरासँगै विद्यालय पठाए बिग्रन्छन् भन्ने मान्यताले समाजमा जरो गाडेको थियो । यही मान्यतासँग लडेर शिक्षाप्रेमी केदारनाथ र रामगोपालले यो विद्यालय स्थापना गर्न सफल भएका हुन्, समाजसेवी कुम्हालले विगतको स्मरण सुनाए ।

विद्यालय स्थापनापछि छात्रालाई अध्यापन गराउन शिक्षिकाको जिम्मेवारी रामकुमारी मेहरोत्रालाई दिइएको थियो । शुरुआती चरणमा ६÷७ मात्र छात्रा विद्यालयमा अध्ययन गर्ने यो विद्यालयमा अहिले ७०० भन्दा बढी छात्रा अध्ययनरत छन् । छात्रा मात्र पढ्न पाउने र शिक्षिकाले मात्र पढाउन पाउने व्यवस्था गरिएकामा अहिले शिक्षिकाको अभावमा शिक्षकको पनि व्यवस्था गरिएको छ । वि.सं २०६५ सम्म महिला प्राचार्यले नै विद्यालय सञ्चालन गरिरहेको अवस्था पनि फेरिएको छ । विद्यालयमा अहिले सुरेशकुमार परसैला प्रधानाध्यापकको भूमिकामा छन् ।

“विद्यालयमा कक्षा १२ सम्मको पढाइ शुरु भएपछि प्रधानाध्यापकका लागि हुनुपर्ने योग्यतामा महिला नपाएपछि पुरुष शिक्षकलाई प्रधानाध्यापकमा नियुक्ति गरिएको हो”, प्रधानाध्यापक परसैलाको भनाइ छ । यो विद्यालयमा अहिले शिक्षिकाकै सङ्ख्या बढी छन्, तर त्यसकै हाराहारीमा शिक्षक पनि अध्यापनमा संलग्न छन् ।

“छोरी मात्र अध्ययन गर्ने भएकाले सरस्वती विद्यालयका विद्यार्थीबीच कुनै किसिमको द्वन्द्व छैन, सधैँ शान्त वातावरणमा विद्यालयको पठनपाठन हुने गरेको छ । छात्रा पनि निर्धक्क विना डर, त्रास रमाएर पढ्ने गरेका छन्”, प्राचार्य परसैलाको भनाइ छ ।

छात्रा मात्र अध्ययन गर्न पाउने जस्तै अर्को विद्यालय पनि यस वर्षदेखि नेपालगञ्जमा सञ्चालन गरिएको छ । छात्रछात्रा दुवै पढ्न पाउने नेपालगञ्जको सल्यानीबागस्थित नेपाल आधारभूत प्राथमिक विद्यालयमा यस वर्षदेखि छात्रा मात्र अध्ययन गर्न पाउने भएका छन् ।

नेपालगञ्जका अधिकांश मधेशी र मुस्लिम समुदायहरु छोरीलाई छात्रा विद्यालयमा मात्र पढाउन रुचि राख्ने भएकाले प्राथमिक तहको अर्को छात्रा विद्यालय सञ्चालनमा ल्याइएको नेपालगञ्ज उपमहानगरपालिका शिक्षा शाखा प्रमुख गोर्खबहादुर थापाले बताए ।

Tags :
प्रतिक्रिया दिनुहोस