विकास निर्माणमा बालबालिकाको प्रयोग « प्रशासन
Logo १५ चैत्र २०८०, बिहिबार
   

विकास निर्माणमा बालबालिकाको प्रयोग


२१ असार २०७६, शनिबार


जाजरकोट । शुक्रबार बिहानै सिँचाइ डिभिजन कार्यालय र आशा कार्यक्रमको अनुगमनमा भेरी नगरपालिका ८, ९ लगायतका ठाउँमा जिल्लाका सरकारी अधिकारी पुग्दा त्यहाँ स्कूले बालबालिका पढाइ खर्च जुटाउन एकनासले काम गरिरहेका थिए ।

उनीहरु असार १५ गते विद्यालय बन्द भएपछि पढाइ खर्च जुटाउन विकास निर्माणको काममा सक्रियतापूर्वक लागेको बताउँछन् । उमेर छिपिएका मानिस काममा आउँदा काम ढिलो गर्नुका साथै कामचोर हुने भन्दै बालबालिकालाई काम लगाउँदा छिटो र कम रकम दिए पुग्ने भन्दै उपभोक्ता समिति बालबालिकाको प्रयोग गरिरहेका छन् । समय हुँदासम्म विकास निर्माणका ध्यान नदिने तर असार अन्तिममा आएर मुठीभरको बल प्रयोग गरी असारे विकास गर्ने प्रवृत्तिका कारण यस्तो समस्या आएको हो । पुरानो घट्टस्थित तटबन्ध निर्माण गर्नका लागि शिवशङ्कर मावि जगतीपुरमा कक्षा १० मा पढ्ने देवी राना काममा व्यस्त छन् । उनी बिहानै घरबाट मकैको रोटी कम्मरका बाँधेर तटबन्ध निर्माणको काममा लागिरहेका छन् । उनलाई दैनिक रु ५०० ज्याला दिने गरी त्यहाँ काममा ल्याइएको हो । देवी भन्छन्, “गाउँमा विकास निर्माणको काम भइरहेको थाहा पाइयो, हामीसँग पैसा पनि थिएन, त्यसैले काम गर्न आएका हौँ ।”, विद्यालयमा बिदा भएको समयमा कक्षामा दिएको गृहकार्य र अन्य पढाइसम्बन्धी काम गर्नुपर्ने भए पनि पढाइ खर्च जुटाउन आफूहरु काम गर्न बाध्य भएको देवीले गुनासो गगरे।

उनीजस्तै भैरव आधारभूत विद्यालयमा कक्षा ७ मा पढ्ने प्रकाश राना पनि सोही तटबन्धमा काम गरिरहेका छन् । उनलाई दैनिक रु ५०० नै दिने गरी काममा लगाएको छ । रानाले भने, “यताबाट उपभोक्ता समितिका दाइले फोन गगरे, काम चलिरहेको छ ५०० दिउँला आउ भनेपछि काममा आएको हुँ ।” उनीहरु जस्तै नौ जनाभन्दा बढी विद्यार्थी सो काम गरिरहेका छन् । त्यस्तै भुरचौर सिँचाइ योजना, शिवालय गाउँपालिकामा निर्माण हुने विकास निर्माणका काममा समेत व्यापकरुपमा विद्यार्थीको प्रयोग बढेको छ । उपभोक्ता समितिले नाफा गर्ने मनसायका कारण विद्यार्थीलाई काममा लगाउने गरेको खुलासा भएको छ । पढाइ खर्च जुटाउन विकास निर्माणका काममा लाग्नुपरेको उनीहरुको भनाइ छ । अहिले जिल्लाका अधिकांश ठाउँमा असारे विकासको काम जारी रहेको छ । विकास निर्माणका कामका सक्रिय सहभागिता जनाउने झण्डै ५० प्रतिशत विद्यालयका छात्रछात्रा रहेका छन् । सबैको एउटै समस्या छ, पढाइ खर्च जुटाउन काम गरिरहेका छौँ, घरको आर्थिक अवस्था कमजोर भएकाले भारत जानुभन्दा घर नजिकैको विकास निर्माणको काम गरिरहेका छौँ ।

विकास निर्माणको काम गर्ने ठाउँमा उपभोक्ता समितिका अध्यक्ष सहभागी भएको कमै देखियो । काममा स्थानीयलाई लगाएर आफू घरको व्यक्तिगत काममा लागेको अधिकांश ठाउँमा पाइएको छ । देशका ठूला, ठूला अनि महँगा विद्यालयमा पढ्न विद्यार्थी पढाइलाई मजबुत बनाउन लागिरहेका बेला जाजरकोटका ग्रामीण क्षेत्रमा पढ्ने बालबालिका भने मजदूर भएर काम गर्न बाध्य छन् । निजी विद्यालय पढ्ने विद्यार्थीलाई परीक्षाको समयमा सामुदायिक विद्यालयमा ल्याएर परीक्षा दिन लगाइने गरेको खुलासा भएको छ । सामुदायिक विद्यालयमा पढाइ शिक्षक, जनप्रतिनिधिका छोराछोरी सरकारी कर्मचारीका छोराछोरी निजी विद्यालयमा पढाउने गरेको देखिन्छ ।

कुशे गाउँपालिकाले पहिलो निर्णय गर्दै सबै सरकारी कर्मचारी, जनप्रतिनिधि र शिक्षकका छोराछोरी सामुदायिकमा पढ्नुपर्ने नीति बनाए पनि अध्यक्ष हरिचन्द्र बस्नेतकै छोरा निजी विद्यालयमा पढ्ने गरेको पाइन्छ । त्यस्तै नलगाड नगरपालिकाका नगरप्रमुखका नातिलगायत अन्य जुनिचाँदे गाउँपालिकाका अध्यक्षका छोराछोरीसमेत निजी विद्यालयमा पढिरहेका छन् । गरीबका छोराछोरी सामुदायिकमा, तर सोही सामुदायिकमा पढाउने शिक्षकका छोराछोरी निजीमा पढाउने गरेको देख्दा शैक्षिक अवस्था कसरी सुधार होला सजिलै अनुमान लगाउन सकिन्छ । रासस

Tags :
प्रतिक्रिया दिनुहोस