गोकर्णेश्वरको बजेट रु एक अर्ब ४४ करोड « प्रशासन
Logo १५ चैत्र २०८०, बिहिबार
   

गोकर्णेश्वरको बजेट रु एक अर्ब ४४ करोड


१८ असार २०७६, बुधबार


काठमाडौं । गोकर्णेश्वर नगरपालिकाको नगरसभाले आर्थिक वर्ष २०७६/७७ का लागि रु एक अर्ब ४४ करोडको बजेट पारित गरेको छ ।

नगरसभाको आजको बैठकले पूर्वाधार विकास एवं पर्यटनलाई प्राथमिकता दिइएको बजेट पारित गरेको नगरपालिकाका प्रवक्ता मनोजकुमार ढुङ्गानाले राससलाई जानकारी दिए ।

नगरपालिका–३ स्थित प्रसिद्ध पर्यटकीयस्थल तारेभीरमा महादेव र बुद्धको ठूलो मूर्ति स्थापना गरी पर्यटक आकर्षित गरिने भएको छ ।

नगरपालिकाका सबै वडामा खानेपानीको समस्या रहेकाले समाधानका लागि वृहत् खानेपानी योजना निर्माणका लागि पनि बजेट छुट्याइएको छ । वाग्द्वारबाट झने वाग्मतीको पानी सुन्दरीजलबाट उपत्यकामा वितरणका लागि ल्याइने भाग नगरपालिकामै पर्ने भए पनि अधिकांश भागमा खानेपानीको समस्या छ । ९० वर्ष माथिका वृद्धवृद्धालाई नगरपालिकाले विशेष भत्ता दिने भएको छ ।

नगरपालिका–५ स्थित नारायणटार पुलबाट वडा नं–४ स्थित भगवती स्थानको वाग्मती नदीमा बाँध निर्माण गरी पर्यटक आकर्षित गर्न स्टिमर चलाउन रु दुई करोड बजेट विनियोजन भएको पनि प्रवक्ता ढुङ्गानाले बताए । गोकर्णेश्वर महादेव मन्दिर क्षेत्रलाई व्यवस्थित धार्मिकस्थलका रुपमा विकास गर्न खाली जग्गामा बगैँचा निर्माण गरिने योजना पनि नगरपालिकाले अघि सारेको छ । मन्दिरमा सुनको जलपसहितको धातुको छाना छाउने कामलाई पनि निरन्तरता दिइने छ ।

पहिलो प्रामाणिक राजा मानदेवले बसाएको ऐतिहासिक बस्ती गोकर्ण देशेमा नेपाली वास्तु कला झल्कने पुरानो शैलीका घर निर्माणका लागि प्रोत्साहन गर्न रु एक करोड विनियोजन गरिएको छ । नगर प्रमुख सन्तोष चालिसेले प्रस्तुत गरेको बजेट नगरसभामा छलफलपछि पारित भएको हो ।

Tags :
प्रतिक्रिया दिनुहोस