पेट्रोलियम पदार्थको अन्वेषण सुरु « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

पेट्रोलियम पदार्थको अन्वेषण सुरु


१२ असार २०७६, बिहिबार


काठमाडौं । नेपालमा पेट्रोलियम पदार्थको अन्वेषण सुरु भएको छ । पेट्रोलियम पदार्थ अन्वेषणका लागि नेपाल र चीनबीच भएको सम्झौता अनुसार चीनियाँ टोली नेपालमा अन्वेषण गरिरहेको छ ।

हाल नेपाल तीन वर्षे पेट्रोलियम पदार्थ अन्वेषण कार्यक्रम सञ्चालनमा छ । नेपालको दैलेख जिल्लामा भेटिएको कच्चा तेल तथा ग्यासले त्यस क्षेत्रमा प्रचुर मात्रामा पेट्रोलियम पदार्थ रहेको अनुमान गरिएको छ । दैलेख क्षेत्रमा व्यापक कच्चा पदार्थ रहेको हुनसक्ने खानी तथा भूगर्भ विभागले जनाएको छ । दैलेखको करिब १४ किलोमिटर क्षेत्रमा ४५ वटा ग्यास चुहावट देखिएको विभागले जनाएको छ ।

खानी तथा भूगर्भ विभागका अनुसार अन्वेषणको यो वर्ष पेट्रोलियम पदार्थ पाइने क्षेत्रको सम्भाव्यवता अध्ययन तथा कार्य क्षेत्र निर्धारण, दोस्रो वर्ष यसको गहन अध्ययन गरिने र तेस्रो वर्ष निर्धारण गरिएका क्षेत्रहरुमा ‘ड्रिलिङ’ गरिने छ । ‘ड्रिलिङ’ जमिनमुनि ४.४ किलोमिटरसम्म गरिने छ ।

अन्वेषणबाट पेट्रोलियम पदार्थ देखिएको अवस्थामा उत्खननका लागि अर्को सम्झौता गर्नुपर्ने बताइएको छ ।

सन् २०१६ मा प्रधानमन्त्री केपी शर्मा ओलीको चीन भ्रमणको क्रममा नेपालमा पेट्रोलियम पदार्थ अन्वेषणका लागि नेपाल र चीनबीच प्रारम्भिक सम्झौता भएको थियो भने सोही सम्झौताअनुसार चिनियाँ प्राविधिक टोली सन् २०१६ को मेमा नेपाल आएर दैलेख, सुर्खेत, बुटवल, पाल्पा, सुनसरीको बराहक्षेत्र र मोरङको बाउनीमा प्रारम्भिक अध्ययन गरेको थियो ।

प्रतिक्रिया दिनुहोस