कुमार पौडेल मुठभेडमै मारिएको गृह मन्त्रीको दाबी « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

कुमार पौडेल मुठभेडमै मारिएको गृह मन्त्रीको दाबी


९ असार २०७६, सोमबार


काठमाडौं । गृहमन्त्री रामबहादुर थापा (बादल)ले विप्लव समूहका सर्लाही जिल्ला इन्चार्ज कुमार पौडेल प्रहरीसँगको मुठभेडमा मारिएको दाबी गरेका छन् ।

संसदको राज्यव्यवस्था समितिको सोमबारको बसेको बैठकमा बोल्दै मन्त्री थापाले पौडेल प्रहरीको जवाफी कारबाहीमा मारिएको दाबी गरेका हुन् ।

बैठकमा मन्त्री थापाले भने, ‘अनटेस्ट मोटरसाइकल सहितका दुईवटा मोटरसाइकलमा आइरहेका चार जना व्यक्तिहरुले प्रहरी टोलीलाई देख्नासाथ मोटरसाइकल छाडी प्रहरीलाई लक्षित गरी आफूहरुसँग रहेको हतियारबाट फायर गरेकोले प्रहरी टोलीले आत्मरक्षाको लागि जवाफी फायर गर्दा एक जनाको घटनास्थलमै मृत्यु भएको र घटनास्थलबाट बरामद परिचयपत्रको आधारमा निज विप्लव समूहको सर्लाही जिल्ला इञ्चार्ज वागमती नगरपालिका वडा नम्बर २ बस्ने ४७ वर्षीय कुमार पौडेल भएको खुल्न आएको छ ।’

मन्त्री थापाले विप्लव समूहले लालबन्दी र हरिऔन इलाकाका स्थानीय जनप्रतिनिधि, व्यापारी, व्यवसायी एवम् सर्वसाधारण व्यक्तिहरुलाई धेरै समय अगाडिदेखि जबर्जस्ती चन्दा माग्ने, चन्दा नदिएमा ज्यान मार्ने लगायतका धम्कीहरु दिने गरेकोमा त्यसबारे व्यापक जनगुनासो बढेपपछि जिल्ला प्रहरी कार्यालय सर्लाहीले गस्ती, निगरानी लगायतका गतिविधि बढाउने क्रममा यही असार ५ गते पौडेल मारिएको बताए ।

उनले अन्य तीन जना मुठभेडको क्रममा जंगलतर्फ भागेको र त्यसरी फायर हुनेमध्ये एक जनालाई गोली लागेको आशंका गरिएको छ । फरार व्यक्तिहरुको प्रहरीद्वारा खोजीकार्य जारी रहेको समेत जानकारी दिए ।

साथै मन्त्री थापाले घटनास्थलबाट मेड इन युएसए लेखिएको रिभल्बर एक थान, कटुवा पेस्तोल एक थान र तीनमा लाग्ने गोली ६ थान बरामद भएको जानकारी समेत जानकारी दिए ।

यस्तै बिष्फोटका लागि प्रयोग हुने सामाग्री, अखिल नेपाल भूमिहीन सुकुम्बासी संघ लेखिएको कसैको नाम उल्लेख नगरिएको परिचय पत्र २ सय थान, ना २२ प ६४ नम्बरको पल्सर मोटरसाइकल एक थान र अनटेस्ट एफजेड मोटरसाइकल एक थान पनि बरामद भएको उनले बताए ।

पौडेल यही असार ५ गते अन्दाजी २ बजे लालबन्दी नगरपालिका वडा नम्बर १ लखनदेहीस्थित जंगलको पश्चिम किनारामा रहेको उत्तर(दक्षिण बाटोमा प्रहरीको गोलीबाट मारिएका थिए ।

आइतबारको राज्यव्यवस्था समितिको बैठकमा सांसद जनार्दन शर्माले मृतक पौडेलबारे सत्य तथ्य जानकारी गृहमन्त्रीबाट लिनुपर्ने बताएका थिए ।

Tags :
प्रतिक्रिया दिनुहोस