प्राकृतिक वरदान समृद्धिसँग जोडिनुपर्छ : मुख्यमन्त्री गुरुङ « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

प्राकृतिक वरदान समृद्धिसँग जोडिनुपर्छ : मुख्यमन्त्री गुरुङ


८ असार २०७६, आइतबार


पोखरा । गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले प्रकृतिको वरदान पोखरा शहरलाई मुलुकको समृद्धिसँग जोड्नु अपरिहार्य रहेको बताएका छन् ।

पोखरा महानगरपालिकाको पाँचौँ नगरसभा एवम् आर्थिक बर्ष २०७६/७७ को नीति तथा कार्यक्रम प्रस्तुत समारोहमा उनले यसको विकासका लागि तीन वटै सरकार जिम्मेवार भएर लाग्नुपर्नेमा जोड दिए । सुन्दर एवम् पर्यटकीय नगरिकका रुपमा परिचित पोखरालाई ढिलै भए पनि संघ सरकारले पर्यटकीय राजधानी घोषणा गर्ने विश्वास व्यक्त गर्दै उनले महानगरले निर्माण गर्ने प्रत्येक भौतिक संरचना त्यसतर्पm उन्मुख हुनुपर्ने बताए ।

पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको धावनमार्ग तीन हजार मिटर हुनुपर्नेमा दुई हजार पाँचसय मिटर बनाएर राजनीति भएको बताउँदै मुख्यमन्त्री गुरुङले त्यसले पोखराको पर्यटन विकासमा बाधक बन्ने धारणा राखे ।

महानगरपालिकाका प्रमुख मानबहादुर जिसीले नीति तथा कार्यक्रम प्रस्तुत गर्दै पूर्वाधार विकास, कनेक्टिङ सडक, समपुरक सडक, भवन निर्माण, खानेपानी, ताल संरक्षण, स्थानीय कानून निर्माण, स्मार्ट सिटी, शिक्षा, सामाजिक सुरक्षा, कृषिलगायतका क्षेत्रलाई प्राथमिकतामा राखिएको जानकारी दिए ।

‘हाम्रो चाहना, पर्यटन मैत्री निर्माण संरचना’ अभियानलाई नेपाल भ्रमण वर्ष २०२० र प्रदेश भ्रमण वर्ष २०१९ लाई सफल बनाउन आन्तरिक भ्रमण विशेष प्राथमिकता दिएर ‘पहिले देश, अनि विदेश’ जोडिने प्रस्तुत नीति तथा कार्यक्रममा उल्लेख गरिएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस