न्यूनतम सुविधा प्राप्त गर्ने सुनिश्चित गरी कामदार पठाउन अनुरोध « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

न्यूनतम सुविधा प्राप्त गर्ने सुनिश्चित गरी कामदार पठाउन अनुरोध


५ असार २०७६, बिहिबार


काठमाडौं । साउदी अरेबियाको रियादस्थित नेपाली दूतावासले नेपाल सरकारले तोकेकोभन्दा कम सेवा सुविधा पाउने अवस्थामा कामदार नपठाउन म्यानपावर व्यवसायीलाई आग्रह गरेको छ । दूतावासबाट प्रमाणीकरण भएका मागपत्रको प्रतिकूल हुने गरी कामदार नपठाउन दूतावासले अनुरोध गरेको हो ।

पछिल्लो समयमा साउदी सरकारले खाद्यान्नलगायत विभिन्न शीर्षकमा लगाएको मूल्य अभिवृद्धि करसँगै बजारभाउ निकै बढेकाले कामदारको जीविकोपार्जन थप खर्चिलो बन्दै गएको दूतावासले जनाएको छ । साउदीमा नेपाली कामदार पठाउन व्यवसायीबीच हुने अस्वस्थ प्रतिष्पर्धाका कारण कामदार न्यूनतम पारिश्रमिक नपाउने समस्याको जोखिममा पर्नसक्ने सम्भावना औँल्याउँदै दूतावासले नेपाल सरकारको निर्णय कार्यान्वयनमा व्यवसायीको जिम्मेवारी र भूमिका महत्वपूर्ण हुने बताएको छ ।

नेपाल सरकारले रोजागरीका लागि साउदी जाने अदक्ष कामदारको न्यूनतम मासिक पारिश्रमिक साउदी रियाल एक हजार र खाना सुविधाको साउदी रियाल ३०० अनिवार्य गरेको छ । उक्त सेवा सुविधा प्राप्त गर्ने सुनिश्चित भएपछि मात्र दूतावासले मागपत्र प्रमाणीकरण गर्दै आएको छ ।

त्यसैगरी दूतावासले कामदारको मागपत्र प्रमाणीकरणका लागि आधिकारिक पत्रसहित उपस्थित हुन म्यानपावर कम्पनीलाई अनुरोध गरेको छ । मागपत्र प्रमाणीकरण गर्न आफ्ना प्रतिनिधिलाई वैदेशिक रोजागार विभागले जारी गरेको फोटोसहितको परिचयपत्रसहित पठाउन पनि दूतावासले आग्रह गरेको हो ।रासस

प्रतिक्रिया दिनुहोस