तराई-मधेशका ग्रामीण बस्तीमा टेलिकमको सेवा « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

तराई-मधेशका ग्रामीण बस्तीमा टेलिकमको सेवा


२८ जेष्ठ २०७६, मंगलबार


काठमाडौं । नेपाल टेलिकमले तराई तथा मधेशका ग्रामीण बस्तीका बासिन्दालाई मोबाइल सेवाको पहुँच वृद्धि गरी गुणस्तरीय सेवा प्रदान गरिएको जनाएको छ ।

चालू आर्थिक वर्षमा हालसम्म कम्पनीले तराईका १७ जिल्लामा मात्र २६० बीटीएस टावर निर्माण गरी सञ्चालनमा ल्याइसकेको एक विज्ञप्तिमार्फत जनाएको छ । तराई क्षेत्रका मोरङ, सुनसरी, झापा, चितवन, सप्तरी, पर्सा, सर्लाही, धनुषा, बारा, रौतहट, सिराहा, कञ्चनपुर, बर्दिया, दाङ, कैलाली, महोत्तरीलगायत जिल्लामा कम्पनीले ती बीटीएसहरु सञ्चालनमा ल्याएको हो ।

मोबाइलको बीटीएस टावर निर्माण कार्यलाई तीव्रता दिइएसँगै ती भेगका ग्रामीण बस्तीका बासिन्दालाई कम्पनीको सेवामार्फत सस्तो दरमा नेपाल तथा विदेशमा भएका आफन्तसँग कुराकानी गर्न र अन्य सुविधा लिन सहज भएको कम्पनीको भनाइ छ ।

तराईका अधिकांश जिल्लामा कम्पनीका सेवा उपलब्ध भएता पनि दुर्गम र कम जनघनत्व भएका कतिपय बस्तीमा सेवाको पहुँच स्थापित भएको थिएन । पछिल्लो समयमा धेरै बीटीएस थप गरिएपछि तराईका ग्रामीण भेगमा पनि मोबाइल र इन्टरनेट सेवा सहज रुपले उपलब्ध भएको छ ।

जतिसुकै दुर्गम र विकट स्थानमा रहेका भए पनि सबै नेपालीबीच कम्पनीको सेवा पु¥याई अत्याधुनिक सञ्चार सुविधा प्रदान गर्ने लक्ष्य बमोजिम ती स्थानमा पनि टुजी र थ्रीजी बीटीएस स्थापना गरी सेवा उपलब्ध गराइएको टेलिकमले जनाएको छ ।

धेरै जनघनत्व भएका तराईका जिल्लाहरुमा उपभोक्ताको मागअनुसार कम्पनीका सेवाको पहुँच थप विस्तार गर्नका लागि पनि कम्पनीले बीटीएस निर्माणलाई तीव्रता दिएको हो । टेलिकमको एक करोड जीएसएम आयोजनाअन्तर्गत ‘प्याकेज ए’ को कार्य लगभग सम्पन्न हुने क्रममा छ ।

प्याकेज ए को ५२ लाख क्षमताको नेटवर्क विस्तार योजनाअन्तर्गत काठमाडौँ उपत्यकाबाहेक मध्यमाञ्चल, पूर्वाञ्चल, सुदूरपश्चिमाञ्चल र मध्यपश्चिमाञ्चल क्षेत्रका विभिन्न स्थानमा बीटीएस टावर स्थापना गर्ने कार्य जारी रहेको विज्ञप्तिमा उल्लेख छ ।

कम्पनीको एक करोड जीएसएम आयोजनाका दुई प्याकेजमध्ये प्याकेज बीअन्तर्गत काठमाडौँ उपत्यका तथा पश्चिमाञ्चल क्षेत्रको ४८ लाख क्षमताको नेटवर्क विस्तार कार्य पहिले नै शत प्रतिशत सम्पन्न भइसकेको छ ।

मुलुकका सातै प्रदेशमा फोरजी/एलटीई सेवा विस्तार गर्ने कार्य पनि दु्रत गतिका साथ भइरहेकोे छ । अत्याधुनिक प्रविधिहरु उपयोग गर्दै कम्पनीले जीएसएम विस्तारको कार्यलाई थप चुस्त पार्ने लक्ष्य लिएको कम्पनीले जनाएको छ ।रासस

Tags :
प्रतिक्रिया दिनुहोस