सरकारी कामकाज स्थानीय तहबाट हुन थालेपछि चहलपहल बढ्यो « प्रशासन
Logo ६ जेष्ठ २०८१, आइतबार
   

सरकारी कामकाज स्थानीय तहबाट हुन थालेपछि चहलपहल बढ्यो


प्रशासन संवाददाता

२ जेष्ठ २०७६, बिहिबार


बेझाड ।  सरकारी कामकाज स्थानीय तहबाटै हुन थालेपछि पाल्पाका गाउँमा चहलपहल बढेको छ ।

मुलुक संघीयतामा गएसँगै सरकारी स्तरबाट हुने कामहरु स्थानीय तहबाटै धमाधम हुन थालेपछि गाउँ गाउँमा चहलपहल बढेको छ भने सदरमुकाम तानसेन बजार क्षेत्र सुनसान देखिएको छ ।

संघीयता कायम हुनुभन्दा अगाडि साना कामकाजका लागि भएपनि सदरमुकाम तानसेन धाउनुपर्ने बाध्यता थयो । दुई तीन दिनको समय खर्चिएर सानो कामका लागि सदरमुकाम नपुगी सुखै थिएन । स्थानीय तहमा बैंक, वित्तीय संस्था, व्यापार, व्यवसाय, उद्योग कलकारखाना खुल्न थालेपछि यसले चहलपहल बढाएको हो ।

हरेक सेवा सुविधा गाउँबाटै पाइन थालेपछि सदरमुकाम तानसेन धाउनुपर्ने समस्या हटेको निस्दी गाउँपालिका–२ सहलकोटका स्थानीयवासी यमबहादुर मश्राङ्गीको भनाइ छ । “कृषि कार्यक्रम सम्झौता, रकम निकासा गर्न, तालीम गोष्ठीका लागि भएपनि सदरमुकाम नै नगई सुखै पाइँदैनथ्यो, अहिले गाउँपालिका कार्यालयबाटै ती काम सजिलैसँग काम भइरहेको छ,’ मश्राङ्गीले भने ।

वडा कार्यालयले कागज प्रक्रिया बनाइदिएपछि गाउँपालिकाको कार्यालयमा फरफारक र रकम निकासा सजिलैसँग भइरहेको उनले बताए ।

दुई वर्षअघि सम्म सदरमुकाम तानसेनस्थित विभिन्न्न सरकारी कार्यालयमा सेवा लिन जानेको चाप हुन्थ्यो । धेरैजसो सचिवहरु पनि सदरमुकाममा नै केन्द्रित हुँदा गाविसबाटै हुने मकाजदेखि जिल्लास्तरका कामहरु लिएर नागरिकहरु २–४ दिनको समय खर्चिएर सदरमुकाम धाउनुपर्ने अवस्था थियो ।

अहिले स्थानीय तहमा जनप्रतिनिधिले नेतृत्व गरेपछि कर्मचारी पूरै समयावधि कार्यालयमै बसेर सेवा दिइरहेका छन् । सम्बन्धित वडा कार्यालय, नगरपालिका तथा गाउँपालिकाको कार्यालयबाटै सहज रुपमा सेवा पाउन थालेपछि गाउँमै सिंहदरबार आएको अनुभूति नागरिकले गर्न थालेका छन् ।

गाउँमै विभिन्न सेवा सुविधा पाउँदा नागरिकलाई ठूलो राहत मिलेको रामपुर नगरपालिका–६ तिलकपुरका समाजसेवी जयनारायण न्यौपानेले बताए । “पहिला कर्मचारी कार्यालय नबस्ने, उनीहरु सदरमुकाम नै बसेर सेवा दिने गर्थे, दुई चार दिनका लागि पैसाको बन्दोबस्त गरेर सदरमुकाम तानसेन पुगेर निकै दुःखसँग कामहरु गर्नुपर्थ्यो, सेवाग्राहीको भीडले कार्यालयमा दिनभर लाइन बस्दा पनि पालो पाइँदैनथ्यो,’ उनले भने ।

शिक्षा, स्वास्थ्यलगायत आधारभूत आवश्यकताहरु नगरपालिकालाई नै अधिकार दिएको हुँदा संघीयताको अनुभूति गर्दै नागरिकले सहज रुपमा सेवा लिइरहेको रामपुर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत बाबुराम अर्यालले बताए । ‘संघीयताले पछाडि परेका समुदायलाई अगाडि बढाउन र नागरिकलाई विकासका कार्यक्रम आफैँ छनोट गर्न सक्ने अवस्था सिर्जना गरेको छ,’ उनले भने ।

विकास निर्माणका कामका निम्ति साबिक जिविस (हालको जिल्ला समन्वय समिति)मा सेवाग्राहीको ठूलो चाप हुन्थ्यो । कर्मचारीलाई पनि काम गर्न भ्याइनभ्याइ हुन्थ्यो ।

अहिले भने पहिलेको तुलनामा कार्यालय सुनसान बनेको छ । छोराछोरीलाई पढाउन, व्यापार–व्यवसाय गर्न वा सुविधाको खोजीमा शहर–बजार पुगेका मानिसहरु पनि गाउँ फर्किने गरेका छन् ।

सेवा सुविधाकै लागि बसोबास गर्दै आएका घर, उत्पादनशील जमीन छाडेर शहर–बजार जाँदा गाउँमा केही समय सुनसान छायो । अहिले स्थानीय तह सञ्चालनमा आएपछि पुनः शहर बजार छाडेर पुरानै थातथलोमै फर्की गाउँमै कृषि कार्य, विभिन्न व्यापार र व्यवसायमा लाग्न थालेको पाइएको छ ।

कृषि, पशु, विकास निर्माणका काम गाउँपालिकाको कार्यालयमा नै हुन थालेपछि सेवाग्राहीको चाप बढ्दो रहेको माथागढी गाउँपालिकाका अध्यक्ष सन्तोष थापा मगरले बताए ।

रम्भा गाउँपालिकाले सदरमुकामबाट उपलब्ध हुने सेवा गाउँपालिकाको कार्यालयबाटै दिन थालेपछि बसाइँसराइ हुने क्रम रोकिन पुगेको गाउँपालिकाका अध्यक्ष विष्णुप्रसाद भण्डारीले बताए ।

विकास निर्माणका योजनाका कामहरु वडा कार्यालयबाटै प्रक्रिया पुर्‍याएर फरफारक र पेश्की लिने गरी गाउँपालिका कार्यालयमा जाने व्यवस्था गरिएको उनले भने।

एक हजार छ सय जना ज्येष्ठ नागरिकलाई यसै आर्थिक वर्षमा ज्येष्ठ नागरिक परिचयपत्र पनि वितरण गरिसकेको छ भने अपाङ्गता परिचयपत्र वितरण गर्ने तयारीमा रहेको गाउँपालिकाले जनाएको छ ।

यातायातको सुविधा गाउँघरमै पुगेपछि सदरमुकाममा उपलब्ध वस्तुहरु सोही मूल्यमा आफ्नै घरपायकमा पाइन थालेपछि त्यहाँका वासिन्दामा अहिले उत्साह देखिएका छन् । सदरमुकामबाट हुने धेरैजसो काम गाउँमै हुने हुँदा सदरमुकामको व्यापार खुम्चिने र गाउँ बस्तीमा चहलपहल देखिन थालेका छन् ।

Tags :
प्रतिक्रिया दिनुहोस