लुम्बिनी, पशुपतिनाथ र जनकपुरलाई जोड्ने सर्किट बनाउनुपर्छ : अध्यक्ष दाहाल « प्रशासन
Logo १६ चैत्र २०८०, शुक्रबार
   

लुम्बिनी, पशुपतिनाथ र जनकपुरलाई जोड्ने सर्किट बनाउनुपर्छ : अध्यक्ष दाहाल


प्रशासन संवाददाता

३० बैशाख २०७६, सोमबार


काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले लुम्बिनी, पशुपतिनाथ र जनकपुरलाई जोड्ने सर्किट बनाउन आवश्यक रहेको बताएका छन् ।

नेपाल प्रज्ञा प्रतिष्ठान र मिथिला प्रतिष्ठानको सयुक्त आयोजनामा आज यहाँ ‘राष्ट्रिय विभूति सीता जन्मजयन्ती समारोह’ मा उनले ती धार्मिकस्थललाई जोडेर सर्किट बनाएर मुलुकको धार्मिक पर्यटन विकास गर्न सकिने बताए ।

उनले हिन्दू र वौद्ध धर्मलाई जोड्ने सर्किट बनाउन सके विश्वको ध्यान केन्द्रीत गर्न सकिने समेत धारणा राखे । जनकपुर, पशुपतिनाथ र लुम्बिनीलाई ज्ञान विज्ञानको रुपमा विकास गर्नुपर्ने उनको भनाइ थियो ।

‘भारतका प्रधानमन्त्री नरेन्द्र मोदी र चीनका राष्ट्रपति सि जिन पिङसँग कुरा हुँदा एशियाको आर्थिक, राजनीतिक र सांस्कृतिक समीक्षा गर्दे भविष्य कसरी लैजाने भन्नेमा मेरो बहस भएको थियो’ उनले भने,’ दुवै नेताले ‘नेपाल देश सानो नभएको र नेपालको इतिहासको गौरव पनि कम छैन, अहिले पनि नेपालले खेल्ने भूमिका ठूलो छ’ भने ।

दुई नेताको भनाइबाट जनकपुर, लुम्बिनी र पशुपतिनाथलाई सम्झन्छन् भन्ने देखाउछ ।’अध्यक्ष दाहालले पूर्व पाथीभरादेखि बडिमालिकासम्म रहेका सबैका शक्तिपिठलाई जोड्ने एउटा शक्तिपिठ सर्किट बनाउन आवश्यक रहेको बताए ।

नेपाल–भारतका शक्तिपिठ जोड्ने सर्किट

यस्तै उनले नेपाल र भारतका शक्तिपिठलाई जोड्ने सर्किट बनाउनुपर्ने बताए । नेपालका शक्तिपिठ र भारतका शक्तिपिठ मिलाएर शक्तिपिठ सर्किट बनाउने हो भने पर्यटन विकासमा क्रान्ति ल्याउन सकिने उनको भनाइ थियो ।

अध्यक्ष दाहालले नेपाल र भारतका केही विद्धानलाई राखेर यसको सम्भाव्यता अध्ययन गर्न लगाउनुपर्ने बताए ।

मिथिला सभ्यतालाई विकास गर्नुपर्ने

उनले मिथिला सभ्यतालाई ज्ञान, आर्थिक समाजिक र विकासको केन्द्रको रुपमा लैजानुपर्ने समेत धारणा राखे। मिथिला र मिथिला सभ्यता आफैमा नेपालको मात्र नभइ विश्वका मानव जातिको संस्कृतिको केन्द्रविन्दु रहेको उल्लेख गर्दै उनले मिथिला सभ्यताबाट मानिसले ज्ञान र विज्ञान सिक्ने सिकाउने भए पनि अहिले मिथिला यहाँबाट अयन्त्र सरेको बताए ।

जनकपुरमा भारतका प्रधानमन्त्री नरेन्द्र मोदीको भ्रमण, नेपालका प्रधानमन्त्री केपी शर्मा ओलीको भारत भ्रमण र दुवै प्रधानमन्त्रीद्वारा रामायण सर्किटको उद्घाटन, अयोध्यामा चल्ने बसको उद्घाटन जस्ता कार्यमिथिला सभ्यतालाई नै बुझेर गरेको उनले उल्लेख गरे ।

पौराणिक तथा ऐतिहासिककालमा रहेका सबै गौरवलाई अन्वेषण गर्ने र त्यसका बारेमा जनचेतना अभिवृद्धि गदै इतिहासका गौरवलाई जनता र वर्तमान समाजको सेवामा सदुपयोग गर्नुपर्ने उनले बताए ।

अध्यक्ष दाहालले आफू धर्म निरपेक्षभन्दा धर्म सापेक्षको पक्ष पोषण गर्ने, जनताको धार्मिक आस्थालाई सम्मान गर्ने, सबै धर्म सम्प्रदायमा राज्यले समान व्यवहार गर्नुपर्दछ भन्ने कुराको पक्षपाती रहेको बताए ।

अध्यक्ष प्रचण्डले आफू भौतिकवादी दर्शनको विद्यार्थी भए पनि मानव जीवनमा आध्यात्मिक चिन्तनको योग र ध्यानको भूमिका रहन्छ भन्नेमा आफू रहेको उल्लेख गरे ।

रामजस्तै सीताको जयन्ती मनाउनुपर्ने

अध्यक्ष दाहालले सीतालाई आर्दश नारीको रुपमा चिनिएकोले रामजयन्ती जस्तै सीता जयन्तीलाई पनि भव्य रुपमा मनाउनुपर्ने बताए । ‘रामको जन्मलाई जसरी मनाउँदा सीताको जन्मलाई भने कम गरी मनाउने परम्परा रहेको छ । त्यो पितृसत्तावादी सोचको अभावले भएको हो’ उनले भने, ‘रामभन्दा सीताको जन्म कत्ति पनि कम मान्नुहुदैन । महिला हुनुको नाताले सीतालाई बढी चर्चा, सम्मान हुनुपर्दछ । सीताको भूमिकालाई बढी प्रचार गर्नुपर्दछ ।’

अध्यक्ष दाहालले चीन भ्रमणमा जाँदा ल्हासाबाट काठमाडौं हुँदै पोखरा लुम्बिनीसम्म रेल लैजाने कुरा र भृकुटीले खेलेको भूमिका स्थापित गराउने कुरा पूरा हुँदै गइरहेको बताए । उनले ल्हासाबाट रेल चाँडै अब आइपुग्ने भन्दै त्यसले पर्यटन र विकासका निम्ति कोशेढुङ्गा सावित गराउने बताए ।

अध्यक्ष दाहालले नेपालको ऐतिहासिक गौरवलाई स्थापित गर्न देखेका सपना चाँडै पूरा गर्ने समेत बताए । कार्यक्रममा संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री धनबहादुर बुढाले सीताको जन्मस्थल जनकपुरलाई ऐतिहासिक नगरिको रुपमा विकास गरिने बताए ।

सांसद प्रभु साहले सीतालाई सम्मान गर्दा इतिहासप्रति न्याय, महिलाप्रतिको सम्मान र विभेद्को अन्त्य हुने बताए । राष्ट्रिय जनता पार्टीका वरिष्ठ उपाध्यक्ष वृषेशचन्द्रलालले नारीमा हुनुपर्ने मर्यादा सीताभन्दा अर्को कोहीमा नभएको बताए ।

कार्यक्रममा राष्ट्रिय प्रजातन्त्र पार्टी (सयुक्त) प्रजातान्त्रिकका अध्यक्ष पशुपति शम्शेर राणाले जनकपुरलाई सबै हिन्दूको धार्मिकस्थलको रुपमा विकास गरिनुपर्ने बताए ।

ओशो तपोवनका प्रमुख स्वामी आनन्द अरुणले विश्वभरिका हिन्दूलाई जोड्ने मार्गको रुपमा जनकपुरलाई विकास गरिनुपर्ने बताए । कार्यक्रममा मिथिला प्रतिष्ठानका अध्यक्ष रामआधार कापरले जनकपुरमा मात्र सीमित नराखेर पहिलो पटक काठमाडौँ सीताको जयन्ती मनाउन थालिएको बताए ।

कार्यक्रममा अरविन्द मिश्रले मिथिला, सीता र राजा जनकबारे ‘मिथिला र जनकवंशः एक संक्षिप्त इतिहास’ कार्यपत्र प्रस्तुत गरेका थिए ।

Tags :
प्रतिक्रिया दिनुहोस