हुलाक सेवालाई समय सान्दर्भिक बनाइने : मन्त्री बाँस्कोटा « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

हुलाक सेवालाई समय सान्दर्भिक बनाइने : मन्त्री बाँस्कोटा


२९ बैशाख २०७६, आइतबार


मन्त्रिपरिषद् बैठक

नुवाकोट । सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले हुलाक सेवालाई समय सान्दर्भिक बनाएर सञ्चालनमा ल्याउन सरकार प्रतिबद्ध रहेको बताएका छन् ।

जिल्ला हुलाक कार्यालय नुवाकोटको आज अनुगमन पश्चात उनले सञ्चार क्षेत्रको पुरानो माध्यम हुलाक सेवालाई आधुनिक, प्रतिस्पर्धी र विश्वसनीय बनाउन सरकार सकारात्मक रहेको बताए ।

‘हुलाक भन्ने वित्तिकै कर्मचारीले नाक खुम्चाउने र सेवाग्राहीले विकल्प खोज्ने गरेका छन्’, उनले भने, ‘बदलिँदो परिवेशअनुसार प्रतिस्पर्धी बनाउन सरकारले बजेट तथा कार्यक्रमका लागि आवश्यक व्यवस्था अघि बढाउने तयारी गरेको छ ।’

उक्त अवसरमा हुलाक कार्यालयमा कार्यरत करारका कर्मचारीले आफूहरुको रोजगारीको सुनिश्चितता नभएको र उचित पारिश्रमिक नपाएको मन्त्री समक्ष गुनासो राखेका थिए ।

हाल जिल्ला हुलाकसहित मातहतमा १३ स्थानमा इलाका हुलाक कार्यालय र ५० स्थानमा अतिरिक्त हुलाक कार्यालयमार्फत सेवा पु¥याइँदै आएको छ ।

ती कार्यालयमा कार्यरत ७२ कर्मचारीले मासिक रु ६ हजार ६२ र ४९ ले मासिक रु छ हजार ९२५ मात्र पारिश्रमिक पाउँदै आएकाले तलब रकममा वृद्धि र स्थायी हुने प्रक्रिया मिलाउन माग गरेका छन् ।

हुलाक अधिकृत नारायणप्रसाद चापागाईंका अनुसार कार्यालयले हाल चिठीपत्र र हुलाक टिकट बिक्रीको कार्य गर्दै आएको छ । विगतमा लोकप्रिय रहेको हुलाक बचत बैंकको कर्जा लगानी र नयाँ सदस्य विस्तार, पाँच स्थानमा रहेका टेलिसेन्टर, लोकसेवाले माग गरेका विज्ञापनमा आवेदन सङ्कलन लगायतका सेवा हाल बन्द भएका छन् ।

Tags :
प्रतिक्रिया दिनुहोस