नेपाल–भियतनाम सिधा हवाई सेवा सुरु हुने « प्रशासन
Logo ८ बैशाख २०८१, शनिबार
   

नेपाल–भियतनाम सिधा हवाई सेवा सुरु हुने


२९ बैशाख २०७६, आइतबार


काठमाडौं । नेपाल–भियतनाम सिधा हवाई सेवा सुरु हुने भएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीको भियतनामको औपचारिक भ्रमणका क्रममा सिधा हवाई सम्पर्क स्थापना गर्न दुवै देश सहमत भएका हुन् ।

शनिबार जारी संयुक्त विज्ञप्तिमा दुई देशबीच व्यापार तथा लगानी प्रवद्धन, पर्यटन विकास र जनताबीचसम्पर्क स्थापित गर्न छिट्टै नै सिधा हवाइ सेवा सुरु गर्नुपर्ने अवश्यकतालाई विचार गरी सोको तयारीका लागि दुवै देशका सम्बन्धित मन्त्रालयलाई निर्देशन दिने उल्लेख छ ।

भियतनामले नेपालमा धेरै भन्दा धेरै भियतनामी पर्यटक पठाउने र विशेष गरी भगवान बुद्धको जन्मस्थल तथा बुद्ध दर्शनको उदगमस्थल लुम्बिनीमा भियतनामी बौद्ध तीर्थयात्री पठाएर नेपाल भ्रमण वर्ष २०२० लाई सहयोग गर्ने प्रतिवद्धता व्यक्त गरेको छ ।

नेपाल र भियतनाम दुवै देशले कृषि उत्पादनलाई बजारको पहुँच दिने प्रस्तावमा विचार गर्न सहमत भएका छन् ।

नेपालको अति कम विकसित मुलुकबाट चाँडै माथि उठ्न चाहनालाई विचार गर्दै भियतनाले नेपाली उत्पादनलाई भियतनाममा थप निर्यात गर्न दिने कुरामा सहमत हुनुका साथै भियतनामा लगानीकर्ता तथा व्यवसायीलाई नेपालमा उत्पादनमूलक क्षेत्रमा लगानी गर्न प्रोत्साहित गर्ने कुरामा सहमत भएका छन् ।

यस्तै दुवै देश संस्कृतिक पर्यटन र जनता–जनताबीचको अन्तरक्रियालाई बढाउन सहमत भएका छन् ।

दुवै देशका नेताले सन् २०१८ को नोभेम्बरबाट काम सुरु गरेका नेपाल–भियतनामा अनुसन्धान केन्द्र अहिलेसम्म गरेको प्रभावकारी कार्यसम्पादनको प्रशंसा गर्दै आगामी दिनमा हनोईमा भियतनाम नेपाल मैत्री सङ्घ स्थापना कार्यलाई प्राथमिकता दिन सहमत भएका छन् ।

दुवै पक्षले आपसी हितसँग सम्बन्धित क्षेत्रीय तथा अन्तर्राष्ट्रिय विषयमा समान धारणा राख्दै बहुपक्षीयतावादलाई कायम राख्नुपर्ने र साझा समस्याको साझा समाधान खोज्नुपर्ने आफ्नो प्रतिवद्धतालाई दोहोर्‍याएका छन् ।

भियतनामका प्रधानमन्त्री न्युग्यन जुयान फुकले नेपाल सरकारले भियतनामले सन् २०२०–२०२१ का लागि संयुक्त राष्ट्रसङ्घ सुरक्षा परिषद्को अस्थायी सदस्यका लागि उम्मेदावरी दिने कुरामा नेपालको सहयोगका लागि धन्यवाद ज्ञापन गरेका थिए ।

संयुक्त विज्ञप्तिमा प्रधानमन्त्री ओलीले भियतनामका प्रधानमन्त्रीलाई नेपाल भ्रमणको निम्तो दिएका छन् । भियतनामी प्रधानमन्त्री न्युग्यनले निम्तोलाई सहर्ष स्वीकार गरेको उल्लेख छ ।

Tags :
प्रतिक्रिया दिनुहोस