राष्ट्रियसभा बैठकः नीति तथा कार्यक्रमले जनतामा आशा जगायो « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

राष्ट्रियसभा बैठकः नीति तथा कार्यक्रमले जनतामा आशा जगायो


२४ बैशाख २०७६, मंगलबार


काठमाडौं । सत्ता पक्षका सांसदले सरकारले प्रस्तुत गरेको नीति तथा कार्यक्रमले जनतामा नयाँ आशा जगाएको बताएका छन् भने प्रतिपक्षी दलका सांसदले यो महत्वकांक्षी रहेकाले कार्यान्वयनको चुनौती औँल्याएका छन् ।

राष्ट्रियसभामा सरकारको आर्थिक वर्ष २०७६/७७ को नीति तथा कार्यक्रममाथि छलफलमा भागलिदैँ सांसदहरुले नीति तथा कार्यक्रमले समेटेका विषयवस्तुलाई प्रभावकारी कार्यान्वयन गरिनुपर्नेमा जोड दिए ।

नेकपाका सांसद कालीबहादुर मल्लले नीति तथा कार्यक्रमको समर्थन गर्दै समेटिएका विषयवस्तुले जनतामा आशा जगाएको उल्लेख गरे । उनले सरकारको पहिलो वर्ष आधार वर्षमा कानून निर्माणको प्रक्रियाले गर्दा कतिपय कार्यक्रमको प्रभावारी कार्यान्वयनमा केही सुस्तता देखिएपनि अबका दिनमा गति लिने विश्वास व्यक्त गरे ।

सांसद दीनानाथ शर्माले नीति तथा कार्यक्रमले लोकतन्त्रप्रति प्रतिबद्ध, राष्ट्रिय हितको संरक्षण, संघीयताको कार्यान्वय, मौलिक हक र मानवअधिकारको सुनिश्चिता तथा सन्तुलित विकासजस्ता विषयलाई समेटेको बताउँदै यसले सरकारले अघिसारेका ‘समृद्ध नेपाल सुखी नेपाली’को लक्ष्यलाई सार्थक बनाउन योगदान पुग्ने विश्वास व्यक्त गरे ।

नेकपाकै सांसद दीलकुमारी थापा (पार्वती) ले सरकारले ल्याएको नीति तथा कार्यक्रम जनमुखी लोककल्याणकारी राज्यको सिद्धान्तमा आधारित छ भन्दै विकास र समृद्धिको आवश्यकतालाई मध्यनजर गर्दै प्रतिपक्षीले यसको कार्यान्वयनका लागि जिम्मेवार भएर सहयोग गर्नुपर्नेमा जोड दिइन् ।

सांसदहरु सुमनराज प्याकुरेल, जीवन बुढा, बलरामप्रसाद बाँस्कोटा, खगेन्द्रप्रसाद पुरी, कमलाकुमारी ओली, शेरबहादुर कुँवरलगायतले जनताको समग्र आवश्यकतालाई सम्बोधन गर्ने गरी आएको नीति तथा कार्यक्रमको कार्यान्वयनमा जोड दिनुपर्ने बताए ।

यस्तै, सांसद चन्द्रबहादुर खड्का, विमला राई पौडेल र सिंहबहादुर विश्वकर्माले नीति तथा कार्यक्रमले सुशासन, पूँजीगत खर्च बढाउने र योजनाको कार्यान्वयन गराउने प्रतिबद्धता जनाएकाले यसले सन्तुलित विकासलाई अङ्गीकार गरेको उल्लेख गरे ।

बैठकमा नेपाली कांग्रेसका सांसद सरिता प्रसाईंले नीति तथा कार्यक्रमले जनताको अपेक्षित विषयलाई प्रभावकारी रुपमा समेट्न नसकेको धारणा राखे । उनले नीति तथा कार्यक्रमले समेटेका विषयवस्तु राम्रा भए पनि त्यस्ता योजना तथा कार्यक्रम विस्तृतरुपमा आउन नसकेको बताए ।

काङ्ग्रेसकै सांसद धनकुमारी खतिवडाले नीति तथा कार्यक्रमले समेटेका विषयवस्तु नारालाई कार्यान्वयन गर्नसके मुलुकले कोल्टे फर्ने भन्दै छुटेका विषयलाई परिस्कृत गरेर समेटिनुपर्नेमा जोडदिए । सांसद विन्दादेवी आलेले नीति तथा कार्यक्रमले नयाँ कार्यक्रम समेट्न नसकेको तथा विकास र समृद्धिका कतिपय विषयलाई हचुवाको भरमा प्रस्तुत गरिएको आरोप लगाए ।

सांसद अनिता देवकोटाले नीति तथा कार्यक्रमले सत्ता र प्रतिपक्ष नभई मुलुकको हितमा काम गर्ने भएकाले वाद प्रतिवाद नगरीकन छुटेका विषयलाई समेटेर अघि बढन्नुपर्नेमा जोड दिए ।

सांसद जीतेन्द्रनारायण देवले राष्ट्रियसभालाई जुहारीको थलो बनाउन नहुने भन्दै नीति तथा कार्यक्रमका अपुग भएका विषयलाई समेटेर कार्यान्वयनमा लैजानुपर्ने धारणा राखे ।रासस

Tags :
प्रतिक्रिया दिनुहोस