श्रीलङ्का आक्रमणमा मृत्यु हुनेको सङ्ख्या २०७ पुग्यो « प्रशासन
Logo ७ बैशाख २०८१, शुक्रबार
   

श्रीलङ्का आक्रमणमा मृत्यु हुनेको सङ्ख्या २०७ पुग्यो


प्रशासन संवाददाता

८ बैशाख २०७६, आइतबार


कोलम्बो । श्रीलङ्काको राजधानी कोलम्बोका प्रतिष्ठित होटल एवं गिर्जाघर (चर्च) सहित देशका पूर्वी भेगमा आइतबार भएका छ वटा शृङ्खलाबद्ध बिस्फोटमा मृत्यु हुनेको संख्या आइतबार साँझसम्म २०७ पुगेको प्रहरी तथा अस्पताल स्रोतले जनाएको छ ।

मृत्यु हुनेमा ३५ जना विदेशी नागरिक समेत रहेका बताइएको छ भने सवैस्थानमा गरी कम्तीमा २०७ जनाको मृत्यु भएको प्रहरी प्रवक्ता रूवान गुनशेकराले पुष्टि गरे ।

बिस्फोटका कारण अरु करिब ४५० व्यक्ति घाइते भएका बताइएको छ । घटनामा घाइते भएकामध्ये केहीको अवस्था गम्भीर रहेकाले मृत्यु हुनेको सङ्ख्या बढ्नसक्ने सम्भावना रहेको यहाँका अधिकारीहरूले बताएका छन् ।
राजधानी कोलम्बोको सेन्ट एन्थोनी चर्च र होटल र राजधानी नजिकको नेगोम्बोस्थित सेन्ट सेबास्टियन चर्चमा भएका बिस्फोटमा परी उनीहरूको मृत्यु भएको हो ।

चर्चसहित राजधानीका तीनवटा पाँचतारे होटलमा पनि बम बिस्फोटनका घटना भएको प्रहरीले जनाएको छ । ‘राजधानी कोलम्बोका साङ्ग्रिला, सिनमन ग्रान्ड र किङ्सबरी होटलमा पनि बिस्फोट भएका छन्’ उनले भने ।

बौद्धमार्गी बहुल श्रीलङ्कामा करिब ६ प्रतिशत क्याथोलिक सम्प्रदायका मानिस छन् । गिर्जाघरहरुमा बिस्फोट हुँदा इसाई धर्मावलम्बीहरु इस्टर पर्वका अवसरमा आयोजित धार्मिक कार्यक्रममा सहभागी रहेको बताइएको छ ।यहाँको रक्षा मन्त्रालयले आक्रमणबारे अनुसन्धान भइरहेको तर अहिलेसम्म आक्रमणको कसैले जिम्मेवारी नलिएको बताएको छ ।रासस/एएफपी

 

Tags :
प्रतिक्रिया दिनुहोस