भक्तपुर । फोटो खिच्न मनाही गरिएको तलेजु मूलचोकको प्रवेशद्वारमै फोटो खिचाएपछि राष्ट्रपति विद्यादेवी भण्डारी विवादमा परेकी छन्।
फोटो खिच्न मनाही गरेको ठाउँमा खिचिएको राष्ट्रपति भण्डारीसहितको सामूहिक फोटो सामाजिक सञ्जालमा भाइरल भइरहेको छ।
सामाजिक सञ्जालमा राष्ट्रपति जस्तो राष्ट्र प्रमुखले नै नियम पालना नगर्ने भन्दै कडा आलोचना गरिएको छ ।
सर्वसाधारण तथा पर्यटकलाई फोटो खिच्न नदिने र लुकी छिपी खिचेको अवस्थामा पनि डिलिट गर्न लगाउने तलेजुको सुरक्षार्थ खटिएका सैनिक अधिकारीहरूले राष्ट्रपति आउँदा भने फोटो खिच्न दिएको भन्दै आपत्ति जनाएका छन्।
भक्तपुर उद्योग वाणिज्य सङ्घको स्वर्ण जयन्तीको अवसरमा भक्तपुरमा आयोजित नवदुर्गा नाच प्रदर्शन तथा पूजाआजाको क्रममा राष्ट्रपति भण्डारी शनिवार भक्तपुर तलेजुसमेत पुगेकी थिइन्।







