राँझा । नेपाली कांग्रेसका महामन्त्री डा.शशाङ्क कोइरालाले पार्टीभित्र कर्याङकुरुङको जस्तो आन्तरिक एकताको खाँचो रहेको बताएका छन् ।
‘एकता जबसम्म हुँदैन तबसम्म नेपाली कांग्रेसले जित्दैन तर जुन दिन कांग्रेस एक हुन्छ कसैले हराउन सक्दैन’ आज बाँकेको नेपालगञ्जमा आयोजित कार्यकर्ता भेलालाई सम्बोधन गर्दै महामन्त्री डा कोइरालाले भने, ‘कर्याङकुरुङ पन्छीले एकताका आधारमा हजारौँ किलोमिटर टाढाको दूरी पार गर्न सकेका छन्, हामीभित्र पनि साँच्चिकै एकताको खाँचो छ ।’
उनले पार्टी सभापति शेरबहादुर देउवा र वरिष्ठ नेता रामचन्द्र पौडेललाई पार्टीभित्र ‘तेरो र मेरो’ नभनी एकताबद्ध हुन पटक–पटक आग्रह गरेको उल्लेख गर्दै भने, ‘पार्टीको महाधिवेशनमा पक्ष विपक्ष हुनु स्वाभाविक हो तर महाधिवेशनपछि एकताबद्ध हुनुपर्छ ।’ कार्यक्रममा नेपाली कांग्रेसका केन्द्रीय सदस्य दीपक गिरी, किशोरसिंह राठौर, कल्याण गुरुङ र बर्दिया जिल्ला सभापति सञ्जय गौतमले पनि पार्टीभित्रको आन्तरिक एकता हुनुपर्नेमा जोड दिएका थिए ।







