सरकारको शक्ति केन्द्रीकरणले लोकतन्त्र खतरामा : नेता पौडेल « प्रशासन
Logo १६ चैत्र २०८०, शुक्रबार
   

सरकारको शक्ति केन्द्रीकरणले लोकतन्त्र खतरामा : नेता पौडेल


९ चैत्र २०७५, शनिबार


सिन्धुली । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले अहिलेको कम्युनिष्ट सरकार शक्ति केन्द्रीकरण गर्नतर्फ लागेकाले लोकतन्त्र खतरामा परेको बताए । सरकार बहुमतको आडमा शक्ति केन्द्रीकरण गर्न अग्रसर भएकाले यसको प्रतिवाद गरिने उनले बताए ।

नेपाल प्रेस युनियन सिन्धुलीले आज सिन्धुलीमाढीमा आयोजना गरेको पत्रकार सम्मेलनमा वरिष्ठ नेता पौडेलले अहिलेको सरकार एक वर्षको अवधिमा पूर्ण असफल भएको बताए । “ठूला आयोजना, सेनाको अधिकार र न्यायिक निकायको अधिकार आफ्नो साथमा लिँदा लोकतन्त्र नै खतरामा परेको छ”, उनले भने । शान्ति, सुरक्षा, सुशासन, विकास र समृद्धिका आधारमा सरकार असफल भएको उनको आरोप छ ।

विप्लव समूहलाई सरकारले प्रतिबन्ध लगाउनु गलत भएको नेता पौडेलको भनाइ थियो । “कुनै पनि समूहलाई दबाबमा राख्न खोजे मुलुकमा शान्ति र लोकतन्त्र खतरामा पर्ने भएकाले सरकारले यस कदममा पुनःविचार गर्नुपर्छ”, उनले भने । राष्ट्रियता र लोकतन्त्र कमजोर हुने विषयमा जनमत सङ्ग्रह गर्न नसकिने उनले बताए। नेपाली कांग्रेसले आइतबारदेखि ‘मधेश संवाद अभियान’ सञ्चालन गर्न लागेको नेता पौडेलले बताए ।

कांग्रेस प्रमुख प्रतिपक्षी दल भए पनि संस्थागत रुपमा प्रतिपक्षको भूमिका निर्वाह गर्न नसकेको उनको भनाइ थियो । आफूले अहिले पार्टी नेतृत्वभन्दा पनि पार्टीमा देखिएको गुटको अन्त्य र पार्टीलाई बलियो बनाउने विषयलाई प्राथमिकतामा राखेको उनको भनाइ थियो । “समय आए नेतृत्व लिन तयार छु”, नेता पौडेलले भने

Tags :
प्रतिक्रिया दिनुहोस