काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आफू भियतनामी नेता होचिमिन्हबाट निकै प्रभावित भएको बताएका छन् ।
प्रधानमन्त्री ओलीसँग नेपालका लागि समाजवादी गणतन्त्र भियतनामका राजदूत फाम सान्ह चाउले आज गरेको शिष्टाचार भेटमा प्रधानमन्त्रीले आफूले नेता होचिमिन्हका बारेमा धेरै पुस्तक अध्ययन गरेको स्मरण गरे । सो अवसरमा प्रधानमन्त्रीले नेपाल र भियतनामबीच विविध क्षेत्रमा समानता रहेको तथा विद्यमान सुमधुर सम्बन्धलाई थप उचाइमा पुर्याउनुपर्नेमा जोड दिए ।
भेटमा राजदूत चाउले भियतनाम तथा नेपालले प्राप्त गरेका सफलता तथा अनुभव आपसी हितमा प्रयोग गर्न सकिने बताए । उनले भियतनामले छोटो समयमा नै मुलुकको आर्थिक विकास, व्यापार प्रवर्द्धन, पर्यटन, कृषि, सूचना प्रविधिलगायत विभिन्न क्षेत्रमा सफलता हासिल गरेको बताए ।







