जब मन्त्रीले खोले धाराको टुटी…. « प्रशासन
Logo ११ बैशाख २०८१, मंगलबार
   

जब मन्त्रीले खोले धाराको टुटी….


प्रशासन संवाददाता

२६ फाल्गुन २०७५, आइतबार


फिदिम ।  प्रतिलिटर ६० पैसामा खानेपानी खरीद गरेर जीविका चलाउँदै आएका पाँचथरको कुम्मायक गाउँपालिकाका स्थानीयवासीले डिप बोरिङ गरेर जमीनबाट पानी निकालिएपछि ‘आनन्द’को अनुभूति गर्दैछन् ।
रु ५१ करोड बजेट खर्च गरिएको यासोक क्षेत्र पम्पिङ खानेपानी आयोजना समयमै सम्पन्न नहुँदा खानेपानीको चरम अभावमा ‘काकाकुल’ थियो, कुम्मायक । यही क्षेत्रबाट प्रतिनिधित्व गर्ने प्रदेश सरकारका आर्थिक मामिला तथा योजना मन्त्री इन्द्रबहादुर आङ्बोको परिकल्पनाअनुसार यहाँ डिप बोरिङ जडान गरियो ।
नभन्दै पानी निस्कियो र वितरण हुन थालियो । त्यही डीप बोरिङ आयोजनाको मन्त्री आङ्बोले शनिबार औपचारिक उद्घाटन गरे।
काकाकुल कुम्मायकवासीका लागि समस्याको अल्पकालीन समाधान गराउन उनले योजना बनाए, बजेट निकासा भयो । पानी आएको धाराको टुटी खोल्ने पनि मन्त्री आङ्बो उपस्थित भए । यो क्षणमा स्थानीयवासी हर्षविभोर थिए । जब धाराबाट पानी झ¥यो, सयौँ सहभागीले तालीमार्फत यसको स्वागत गरे ।
सुख्खाग्रस्त क्षेत्र कुम्मायक गाउँपालिकामा खानेपानीको उद्घाटनसँगै त्यस क्षेत्रका करीब एक हजार ५०० घरधुरीका सात हजार ५०० परिवारमा खानेपानीको अल्पकालीन सुविधा पुगेको छ । कुम्मायक गाउँपालिका–१ स्थित यासोक बजारमा शनिबार डीप बोरिङबाट निकालिएको पानीको धारा खोलेर उद्घाटन गरिएको हो ।
सो अवसरमा मन्त्री आङ्बो यासोक क्षेत्र पम्पिङ आयोजनाअघि नै डिप बोरिङ आयोजनाले सानो राहत दिएको बताए । उनले प्रदेश सरकार शिक्षा, स्वास्थ्य, खानेपानीजस्ता आधारभूत आवश्यकताको पूर्तिमा केन्द्रित भएको उल्लेख गरे । खानेपानीको अभावमा आफ्नो थाकथलो छोडेर बसाइँ सर्नुपर्ने बाध्यता अन्त्य गर्न यो योजना अघि बढेको उनले प्रस्ट्याए । समृद्ध राष्ट्र निर्माणका लागि ठूला पूर्वाधार निर्माणअघि अत्यावश्यकीय आवश्यकता पूर्ति गर्नतर्फ तीनै तहका सरकारका केन्द्रित हुनुपर्नेमा उनले जोड दिए ।
समुदायको मागमा आधारित भएर कार्य गर्न उनले सबै सरकारी निकायलाई निर्देशन दिए । यासोक क्षेत्रमा पम्पिङ खानेपानी आयोजनालाई सफल बनाएपछि पम्पिङ सिँचाइ आयोजना अघि बढाउनुपर्ने धारणा मन्त्री आङ्बोको छ । यसतर्फ तत्कालै स्पष्ट धारणा बनाउने उनले स्थानीयवासीलाई अपिल गरेका छन् । मन्त्री आङ्बोले वर्ष दिनमा सरकार परिवर्तन गर्दै अस्थिरता र द्वन्द्वको बीउ रोप्न पल्केकाहरु सरकारलाई घेराबन्दीमा पार्ने प्रयासमा लागिरहेको बताए ।
नेपाल सरकारले २०६८ सालमा सुख्खाग्रस्त क्षेत्र घोषणा गरेका साबिकका यासोक, रानीगाउँ र स्यावरुम्वा गाविसमा अहिले ५ वटा डिप बोरिङका आयोजनाहरु अघि बढेका छन् । जसमध्ये तीन वटा आयोजनाबाट खानेपानी निकाली वितरण गर्न थालिएको छ । बाँकी दुई वटा आयोजना अन्तिम चरणमा पुगको आयोजनाका अध्यक्ष अमरसिंह थापाले जानकारी दिए । प्रदेश सरकारले रु १ करोड ६० लाख बजेट उपलब्ध गराएसँगै आयोजनको काम द्रुत गतिमा बढाई तत्कालै खानेपानी प्रबन्ध मिलाइएको खानेपानी तथा सरसफाइ डिभिजन नं १ का प्रमुख सुरतलाल चौधरीले बताए ।
मेची अञ्चलमै पहिलो पटक यहाँ डिप बोरिङको आयोजना सफल भएको उनको भनाइ छ । सुख्खा क्षेत्रमा पानी निस्केपछि स्थानीय हर्षित छन् । स्थानीय व्यवसायी लीला थापा भन्छिन्, ‘यो त अचम्मै हो । यसरी पानी निस्कन्छ भन्ने मैले सोचेको पनि थिएन । अब पानीकै अभावमा कुनै पनि व्यवसाय बन्द गर्नु नपर्ने भयो ।’
विद्युत्को सहायताबाट बोरिङ गरेर निकालिएको पानी सर्वसाधारणका घरसम्म पुर्‍याउन यासोक बजारमा पुरानै पाइपलाइन र सङ्कलन केन्द्रलाई प्रयोग गरिएको अध्यक्ष थापाले जानकारी दिए ।
यो सँगै कुम्मायक गाउँपालिकाले प्रतिलिटर ६० पैसामा वितरण गर्दै आएको तमोर नदीको पानी वितरण कार्यसमेत बन्द भएको छ । डिप बोरिङ आयोजनाको पानी वितरण भएसँगै पानी अभावमा बसाइँ सरेका थुप्रै परिवार पुनस्र्थापित हुने अपेक्षा गरिएको स्थानीयवासीसमेत रहनुभएका पूर्वसामान्य प्रशासन राज्यमन्त्री डम्बरसिंह सम्बाहाम्फेको भनाइ छ ।
डिप बोरिङबाट पानी निकाल्ने प्रविधि सफल भएसँगै प्रदेश सरकारले फिदिम नगरपालिका–९ लुम्फावुङ, फिदिम नगरपालिका–११ नांगिन र फाल्गुनन्द गाउँपालिका–१ सुर्केनागीमा समेत यो प्रविधिको विस्तारमा सघाउने भएको छ । खानेपानीको अभाव रहेका जिल्लाका अन्य स्थानमा समेत यो प्रविधिको प्रयोगको माग बढेको हो ।

प्रतिक्रिया दिनुहोस