महिला अधिकारका लागि सामाजिक रुपान्तरण आवश्यक : मन्त्री थापा « प्रशासन
Logo १ आश्विन २०७८, शुक्रबार
   

महिला अधिकारका लागि सामाजिक रुपान्तरण आवश्यक : मन्त्री थापा


२४ फाल्गुन २०७५, शुक्रबार


काठमाडौं । महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री थममाया थापाले महिलाका सबै अधिकार व्यवहारमा कार्यान्वयन गर्न सामाजिक रुपान्तरण आवश्यक भएको बताएकी छन् ।

सामुदायिक वन उपभोक्ता महासंघ नेपालले १०९ अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसका अवसरमा आज यहाँ आयोजना गरेको कार्यक्रममा उनले अझै पनि महिलामाथि अमानवीय व्यवहार हुने गरेको र सामाजिक कूरितीको शिकार हुनुपरेको बताउँदै यसको अन्त्यका लागि सामाजिक रुपान्तरण आवश्यक रहेकोमा जोड दिइन् ।

उनले मुलुकमा प्रजातान्त्रिक आन्दोलनसँग महिलाका अधिकार स्थापित हुदै गएको र संविधानसभाबाट जारी नेपालको संविधानले महिलाका धेरै अधिकार उल्लेख गरेको बताउँदै ती अधिकार कार्यान्वयनका लागि सरकार कानून निर्माणमा जुटेको धारणा व्यक्त गरिन्।

मन्त्री थापाले सरकारले सङ्कल्प गरेको सुखी नेपाली र समृद्ध नेपालको अभियान सफल बनाउन आधा प्रतिशत भन्दा बढी जनसङ्ख्या रहेको महिलाको समृद्धि आवश्यक रहेकोे बताइन् ।

राष्ट्रियसभाअन्तर्गत दिगो विकास तथा सुशासन समितिका सभापति तारादेवी भट्टले स्थानीय समुदाय अधिकार सम्पन्न भएमात्रै स्थानीय र प्रदेश सरकार सबल हुँने बताउँदै प्राकृतिक स्रोतमाथि स्थानीय समुदायका अधिकार सुनिश्चित गर्न आफ्नो तर्फबाट सहयोग गर्ने धारणा व्यक्त गरिन् ।

राष्ट्रियसभाअन्तर्गत राष्ट्रिय सरोकार तथा समन्वय समितिका सभापति दिलकुमारी रावल थापा (पार्वती) ले सामुदायिक वन उपभोक्ता महासंघले महिलाका अधिकार उठाउँदै आएको बताउँदै त्यस्ता मुद्दालाई कानूनमा समेट्न नीति निर्माण प्रक्रियामा सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरिन् ।

महासंघका अध्यक्ष भारती पाठकको सभातित्वमा कार्यक्रम सम्पन्न भयो यसअघि सामुदायिक वनकर्मीले विभिन्न नारा लेखिएका प्लेकार्डसहितको र्‍याली निकालेका थिए ।

Tags :
प्रतिक्रिया दिनुहोस