गाउँविकास र समाज सेवामा बाबियाचौरका महिला « प्रशासन
Logo १५ चैत्र २०८०, बिहिबार
   

गाउँविकास र समाज सेवामा बाबियाचौरका महिला


प्रशासन संवाददाता

२४ फाल्गुन २०७५, शुक्रबार


सडक

गलेश्वर । म्याग्दीको मङ्गला गाउँपालिकाको बाबियाचौरका महिला समाज सेवा र गाउँ निर्माणमा जुटेका छन् ।

मालिका जागरण महिला समूह सहश्रधारा बाबियाचौरका महिला आफ्नो गाउँलाई आफैँ बनाउने अभियानमा जुटेका हुन् ।’अर्काको मुख ताक्नुभन्दा आफ्ना लागि त आफैँ गर्नुपर्छ भन्ने लागेर सबै महिला एकजुट भई आमा समूह गठन गरेका छौँ’ समूहकी अध्यक्ष इन्दु केसीले भनिन् ।

विसं २०६३ मा स्थापना भएको सो आमा समूहले विकास निर्माणका कार्यका साथै सस्तो ब्याजदरमा ऋण लगानीसमेत गरेको छ । मासिक १० रुपैयाँका दरले पैसा उठाउँछौँ अनि विवाह, व्रतबन्ध हुँदा र गाउँमा लाहुरे आउँदा पनि गीत नाच देखाएर त्यसबाट उठेको पैसा विकास निर्माणमा खर्च गर्न सकेको अध्यक्ष केसीले बताइन् ।

२१ सदस्य रहेको आमा समूहले गाउँमा सजिलो होस् भनेर विवाह व्रतबन्धका लागि चाहिने भाँडाकुँडा, पाललगायतका सामग्रीसमेत किनेको छ ।

केसीले भनिन्, ‘हामीले स्वदैशमै लगानी गर्छौं भनरे भन्नेलाई पनि सस्तो ब्याजदरमा ऋण दिन्छौँ, विदेश जानेलाई समेत सस्तो ब्याजदरमा ऋण दिने गरेका छौँ ।’

समूहमा धेरै पैसा सङ्कलन त भएको छैन तर पैसा नै नभए पनि हरेक काममा हामी सबै महिला सदस्य सहभागी हुन्छौँ र सबै एकजुट भएर लाग्छौँ भनिन् । महिलाले गाउँमा हुने विकास निर्माणका काममा समेत नेतृत्व लिने गरेका छन् ।

खानेपानी, बाटोमर्मत, सामुदायिक वन, आमा समूहको भवनलगायत गाउँमा हुने भौतिक निर्माणका काममा पनि उनीहरुको नेतृत्वदायी भूमिका रहने गरेको मङ्गला गाउँपालिकाका अध्यक्ष सतप्रसाद रोकाले बताए।

‘यहाँका महिला सामाजिक रुपान्तरणका लागि स–साना कामबाट नै लागेका छन्’, अध्यक्ष रोकाले भने, ‘महिला जागरुक हुँदा समाजमा विकास निर्माणका काम छिटो र छरितो हुँदा रहेछन् भने अनियमितताको डर पनि नहुने रहेछ ।’

प्रतिक्रिया दिनुहोस