प्रेस स्वतन्त्रताविना लोकतन्त्रको महत्व हुन्न : सभापति देउवा « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

प्रेस स्वतन्त्रताविना लोकतन्त्रको महत्व हुन्न : सभापति देउवा


प्रशासन संवाददाता

२३ फाल्गुन २०७५, बिहिबार


विराटनगर । नेपाली कांग्रेसका सभापति एवम् पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले प्रेस स्वतन्त्राविना लोकतन्त्रको महत्व नरहने बताएका छन् ।

विराटनगरबाट प्रकाशित हुने न्यू सृष्टि दैनिक पत्रिकाको आठौँ वार्षिकोत्सव समारोहको आज यहाँ उद्घाटन गर्दै उनले लोकतन्त्रमा प्रेस स्वतन्त्रताको अन्योेन्याश्रीत सम्बन्ध छ भने ।

सभापति देउवाले नियमनको नाम सामाजिक सञ्जालमा सरकारले नियन्त्रण गर्न खोज्नु लोकतन्त्रको मूल्य र मान्यता विपरित हो भन्दै संघीयतालाई बलियो बनाउन सरकारले प्रतिपक्षको साथ र सहयोग लिएर हिड्न सक्नुपर्ने सुझाव दिए । उनले संघीयता अब नेपालको वास्तविकता भइसकेको प्रसङ्ग उल्लेख गर्दै संघीयतालाई पूर्णता दिन अझै विधेयक र कानूनहरु बन्नुपर्छ भने ।

सभापति देउवाले प्रतिपक्षको भूमिकामा रहेको कांग्रेस अब सशक्त भूमिका निर्वाह गर्ने तयारीमा जुटेको जानकारी दिँदै सामुदायिक विद्यालयको गुणस्तर बढाउन सरकारले पहल गर्नुपर्छ भने ।

प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राईले पत्रकारिता क्षेत्रले जनताका मन र विश्वास जित्ने काममा लाग्नुपर्ने बताए । उनले सामाजिक परिवर्तनमा पत्रकारिता क्षेत्रले दिएको योगदान सराहनीय छ भने । मुख्यमन्त्री राईले मुलुकमा अब सबै किसिमको अप्ठ्यारा पार भइसकेकाले विकास र समृद्धिको यात्रामा सबैलाई अघि बढ्न आग्रह गरे ।

आन्तरिक मामिला तथा कानूनमन्त्री हिक्मतकुमार कार्कीले निश्पक्ष र सत्य समाचार लेख्नमा सर्वोच्चता हासिल गरेको न्यू सृष्टि दैनिकको सफलताको शुभकामना दिए । उनले सत्तापक्ष र विपक्षीले एकआपसमा सहमति गरेर नै अघि बढ्नुपर्ने धारणा राख्दै प्रदेशसभाको तेस्रो अधिवेशनले प्रदेश नं १ को राजधानी र नाम पनि टुङ्गो लगाउने घोषणा गरे ।

क्रिकेट खेलाडी पारश खड्का र हास्यकलाकार मनोज गजुरेल मुलुकमा शान्ति स्थापना र विकासका काममा एकजुट भएर लाग्नुपर्ने धारणा राखे । कार्यक्रममा न्यू सृष्टि दैनिकका प्रकाश एवम् प्रधान सम्पादन शङ्कर खरेलले पत्रिकाले आफ्ना स्थापना कालदेखि नै देश र जनताका लागि समाचार पस्किरहेको धारणा राख्दै समाजमा पिछडिएका र पछौटेपनका क्षेत्रमा रचनात्मक काम पनि गरिरहेको चर्चा गरे ।

सोही कार्यक्रममा राष्ट्रिय क्रिकेट खेलाडी पारश खड्का, हास्य कलाकार मनोज गजुरेल, गायक कलाकार रामा मण्डल, गायिका आनी छोइङ डोल्पा, डा ज्ञानेन्द्रमानसिंह कार्की र सञ्चारकर्मीद्वय कुमार लुइँटेल र गोपाल काफ्लेसहित २१ जनालाई पुरस्कृत पनि गरिएको थियो ।

Tags :
प्रतिक्रिया दिनुहोस