खोज पत्रकारिता आवश्यक « प्रशासन
Logo ७ बैशाख २०८१, शुक्रबार
   

खोज पत्रकारिता आवश्यक


प्रशासन संवाददाता

२३ फाल्गुन २०७५, बिहिबार


भक्तपुर । पत्रकारले स्थानीय तहको समाचार सङ्कलन गर्दा खोजी समाचार विशेष ध्यान दिनुपर्नेमा जोड दिइएको छ ।

क्रियाशील पत्रकार मञ्च भक्तपुरले काठमाडौँको भोटेचौरमा आयोजना गरेको ‘नगरपालिका, समाचारका विषय र सञ्चारकर्मी’ विषयक दुईदिने अन्तक्रियाका सहभागीले सो धारणा व्यक्त गरेको हो । कार्यक्रममा सांसद महेश बस्नेतले विकासका लागि केन्द्र, प्रदेश र स्थानीय सरकारबीच समन्वय हुनुपर्ने बताउँदै भ्रष्टाचारीलाई भक्तपुरमा छुट नहुने बताए ।

सांसद बस्नेतले भने, ‘भक्तपुरको विकास तीव्र गतिमा भएको छ, यस वर्ष मात्रै सडकका लागि रु ५० करोडको बजेट ल्याएर सडक निर्माणको काम भइरहेको छ, गाउँगाउँमा पक्की सडक पुग्दैछ, भक्तपुरमा यस वर्ष मात्रै २५ किलोमिटर सडक बन्दैछ ।’

चाँगुनारायण नगरपालिकाका प्रमुख सोमप्रसाद मिश्रले पत्रकारले खोज पत्रकारिता गर्न छाडेको बताए । उनले तथ्यमा आधारित रहेर समाचार सङ्कलन गर्न पत्रकार पछाडि परेको बताउँदै कोठे पत्रकारितालाई त्याग्दै खोज पत्रकारितामा अग्रसर हुनुपर्नेमा जोड दिए ।

मध्यपुरथिमि नगरपालिकाका प्रमुख मदनसुन्दर श्रेष्ठले पत्रकारले समाचार लेख्दा चुनौती खेप्न नचाहेको बताए । सूर्यविनायक नगरपालिकाका नगर प्रमुख वासुदेव थापाले पत्रकारले कसैको पक्ष, विपक्ष निलिइ सत्यमा आधारित भएर समाचार लेख्नुपर्नेमा बताउँदै उनले विकासका समाचारलाई प्रभावकारीरुपमा सम्प्रेषण गर्न सुझाव दिए।

सूर्यविनायक नगरपालिकाका उपप्रमुख जुना बास्तोला, चाँगुनारायण नगरपालिकाका उपप्रमुख बिना बास्तोला, गैरसरकारी संस्था महासंघ भक्तपुरका अध्यक्ष सोम शर्मा बजगाईं, नेपाल पत्रकार महासंघ भक्तपुरका अध्यक्ष पुष्करराज बुढाथोकी, मञ्चका सचिव जितेन्द्र श्रेष्ठले जनप्रतिनिधि र सञ्चारकर्मीबीच समाचारका विषयबारे छलफल भइरहनुपर्नेमा जोड दिए ।

मञ्चका अध्यक्ष रमेश गिरीले नगरपालिका र सञ्चारकर्मीबीच समन्वय नहुँदा धेरै समाचार पाठकसम्म पुग्न नसकेको बताउँदै जनप्रतिनिधि र सञ्चारकर्मीबीच समाचारका विषय आदानप्रदान भइरहनुपर्ने धारणा व्यक्त गरे ।

प्रतिक्रिया दिनुहोस