धार्मिक पर्यटनको केन्द्र बाबा बर्दगोरिया धाम « प्रशासन
Logo १५ चैत्र २०८०, बिहिबार
   

धार्मिक पर्यटनको केन्द्र बाबा बर्दगोरिया धाम


प्रशासन संवाददाता

१६ फाल्गुन २०७५, बिहिबार


परासी । आध्यात्मिक सुखको अनुभूति गराउने चुरे पहाडको काख हो बाबा बर्दगोरिया धाम । थरीथरीका रङ्गीबिरङ्गी फूल र चराचुरुङ्गीको कुहुकुहुबाट गुञ्जायमान हुने यो ठाउँ पश्चिम नवलपरासीको सुनवल नगरपालिका वडा नं ११ केरावानीमा अवस्थित छ ।

शिवभक्त नन्दीकेश्वरको तपोभूमिको रुपमा परिचित यो धामको दाहिनेतर्फ पानभार नदी र बाँयातर्फ भूमही नदी बग्छन् ।

यहाँ पूजाअर्चनाका लागि बा¥है महीना भक्तजन आउँछन् । नेपाली नारीहरुको महान् पर्व हरितालिका तीजको दिन त यहाँ पश्चिम नेपालकै सबैभन्दा ठूलो मेला लाग्ने गर्दछ ।

तीजको दिन एकदिन मात्र लाग्ने उक्त मेलामा भारतको देहरादून, लखनउ, कानपुर, विहारदेखि दक्षिणी भारतसम्मका लाखौँ भक्तजन यो स्थानमा मेला भर्न आउँछन ।

यसैगरी, बाला चर्तुदशी, शिवरात्री तथा साउन महीनामा पनि भक्तजनको ठूलो भीड लाग्ने गरेको बाबा बर्दगोरिया धाम विकास समितिका अध्यक्ष नारायण प्रसाद तिवारी बताउछन् ।

मन्दिरको अगाडितर्फ ऐतिहासिक अमर पोखरी रहेको छ भने यही मन्दिरसँग जोडिएको अर्को मन्दिर हो मामीसती सबरिया मन्दिर । यो मन्दिर सुनवल–११ भँडरीमा पर्दछ ।

बाबा बर्दगोरिया र मामीसती सवरिया, दुवै नाम सुन्दा फरक भए पनि यी दुबै मन्दिरको इतिहास एउटै किंवदन्तिमा आधारित छ ।

बाबा बर्दगोरिया धाम विकास समितिका सदस्य उपेन्द्रमान प्रधानका अनुसार प्राचीन समयमा हालको भडँरी जहाँ मामीसती सवरिया मन्दिर रहेको छ, त्यहाँ राजाराम नामका राजा बस्दथे । उनका एक रानी मामीसती र एक भाञ्जा पर्शुराम पनि थिए ।

यही भडँरीमा हाल दोभान भनेर चिनिने भलुही र पानभार खोलाको नजीकै राजाको दरबार थियो । यहाँ अहिले ठूलो सिमलको रुख छ । दरबार अगाडि एउटा तुल्सीको मन्दिर पनि थियो । राजाको नौलाख गाई र ती गाई हेर्ने चरुवाहरु पनि थिए ।

चरुवाहरु गाईलाई चराउँदै नेपालका विभिन्न ठाउँ र भारतको हस्तिनापुरसम्म पुग्ने गर्दथे । चर्न गएका गाईहरु कहिले छिट्टै त कहिले महिना दिनसम्म पनि फर्किदैन्थे । चर्न गएका गाईहरु फर्कंदा दरबार आउनु भन्दा पहिले पानी पिउन हालको केरवानीमा अवस्थित अमर पोखरी पुग्थे ।  अमर पोखरीको पानी पिए पछि अमर भइन्छ भन्ने विश्वास थियो ।

राजाको नौलाख गाई सँगै एउटा ठूलो नन्दी (साँढे) थियो । उसको घाँटीमा सुनै सुनका हार पनि थियो । साँढेलाई देख्ने जो कोही पनि उसको घाँटीको हारले मोहित हुने गर्थे ।

एकदिन गाईहरु चर्दै हस्तीनापुरसम्म पुगेका बेला हस्तीनापुरका बञ्जराहरुले सबै गाईलाई समेटेर पासोमा राखेछन् । चरुवाहरुले ती गाईलाई छुटाउन अनेक प्रयास गरे पनि सफल नभएपछि यो खबर दरवारमा पु¥याए । यस्तो खबर पाएपछि राजाका भाञ्जाहरुले आफैँ गएर हस्तीनापुरका राजासँग मिल्ने र नमिले जसरी भए पनि गाईहरु छुटाएर ल्याउने अठोट गरी हस्तीनापुर लागे ।

उता, हस्तीनापुरका राजा र बञ्जराहरु भने कुनै पनि हालतमा गाईहरु छोड्ने पक्षमा थिएनन् । साँढेको घाँटीका सुनका हार नपाएसम्म नछाड्ने उनीहरुको अडान थियो । साँढेको हार लिन भने त्यति सजिलो पनि थिएन । साँढे आफैँ पनि अत्यन्त बलियो थियो । उनीहरुले साँढेलाई मार्ने र अन्य गाईलाई छाड्ने विचार गरेछन् ।

तर ती नौलाख गाईहरुको बीचमा रहेको साँढेलाई मार्न पनि गा¥है थियो । बञ्जराहरुले साँढेलाई कसरी मार्ने भनेर छलफल गरिरहेका बेला गाईहरु पासो तोडेर भाग्न सफल भएछन् ।
यता राजाराम राजालाई भने सा¥है चिन्ता परेछ । हस्तीनापुरका राजा त्यत्ति कमजोर पनि छैनन् अनि, धेरै सहयोगीहरु पनि छन् । ‘भाञ्जाहरुले एक्लै कसरी ती गाईहरु छुटाऊँन, बरु म पनि जानुपर्छ’ भन्ने सोचेर उनी रानीसँग विदा मागेर हस्तीनापुरतिर जाने निधो गरेछन् ।

जाने बेलामा रानीले ‘हजूरहरु कहिले आउनहुन्छ, म यहाँ एक्लै कसरी बसूँ’ भनी सोधेपछि राजाले भनेछन् – ‘हामी अहिले युद्धमा जाँदैछौँ रानी । यस्तो बेलामा हामीले आत्मबल कम गर्नुहुँदैन । बरु यी तुल्सीलाई हेरेर बस । यदि हामीले युद्ध जित्यौँ र सबैजना दरबारमा फर्कियौँ भने यो तुल्सी जस्ताको त्यस्तै रहने छिन् । हामी हा¥यौँ भने यी तुल्सी ओइलाउँदै जानेछिन ।’ यस्तो वचन दिएर राजा हस्तीनापुर लागे ।

उता, सबै गाईहरु पासो तोडेर भागेको चाल पाएपछि सबै बञ्जराहरु हातहतियार सहित ती गाई र साँढेलाई पछ्याउन थालेछन् । गाईहरु आफ्नो सदाको बाटो प्रयोग गरेर दरबारतिर दौडिरहे तर, साँढेलाई भने बञ्जराहरुले दौडेकै अवस्थामा काट्न सफल भएछन् । साँढेलाई काटेपछि साँढेको सिङ खसेछ, त्यही सिङ खसेको ठाउँलाई आज हामी सिङ्गाहा भनेर चिन्छौं । यो रुपन्देही जिल्लामा पर्दछ ।

त्यसपछि साँढेको मुड खसेछ र त्यस ठाउँलाई पनि मुडभरिया भन्न थालिएछ । घाइते साँढे आफू अमर हुन अमर पोखरीको पानी पिउन दौडँदा दौडँदै उसको खुर झरेछ जसलाई आज खुट्टी नामले चिनिन्छ । यसैगरी, उसको घाँटीमा रहेको सुनको हार पनि खसेछ, त्यही सुनको हार खसेको ठाउँलाई आज हामी सुनवल भनेर चिन्दछौँ । यो पश्चिम नवलपरासीमै पर्दछ ।

बिहान हुनु अघि नै साँढेले अमर पोखरीको पानी पिएको भए पुनर्जीवन पाउने थियो तररु दुर्भाग्य अमर पोखरी नजीकै आइपुग्दा बिहान भएछ र साँढे ढुङ्गाको मूर्तिमा परिणत भएछन् । आज पनि हामी अमर पोखरी भन्दा करीव ५०० मिटर नजीकै अमर पोखरीतिर फर्किएको अवस्थामा उक्त मूर्तिलाई देख्न सक्छौँ ।

तिनै साँढे नै कार्तिकेश्वर महादेवको रुप धारण गरी त्यहाँ बसेकाले तिनैको नामबाट यो मन्दिरको नाम बाबा बर्दगोरिया रहन गएको बताईन्छ । यता राजा र भाञ्जा, गाईहरु सबै भागेपछि दौडिँदै दरबारतिर फर्कन्छन् भन्ने विश्वासले दरबार फर्केछन् । उता बञ्जराहरुले साँढेलाई हानेपछि तुल्सीले राजा हारेको सङ्केत गरेछन् ।

त्यसपछि रानीको मनमा चिन्ता परेछ र सोच्दा सोच्दै उनले भगवान् शिवजीलाई प्रार्थना गरिन् – ‘हे शिवजी हस्तीनापुरका राजा र हामी बीच भएको लडाइँमा हामी हारे जस्तो लाग्यो । राजाले दिएको वचन अनुरुप हामी हारेजस्तो मलाई महशुस भइरहेको छ । अब ती बञ्जराहरुले मलाई पनि छाड्दैनन् । त्यसैले उनीहरु यहाँ आउनुभन्दा पहिले नै यहाँ ढुङ्गाको मूर्तिको रुप भई बस्न पाउँ र मलाई जो जसले छुन्छ त्यो पनि ढुङ्गा भै जाओस् ।” यो प्रार्थना र शिवजीले पनि पूरा गरिदिए ।

राजा र भाञ्जा भने युद्ध नहारी दरबार फर्केका थिए । दरबारमा आउँदा रानीलाई ढुङ्गाको मूर्तिको अवस्थामा देखेर रानी ‘तिमीलाई के भो’ भनेर छुँदा उनी पनि ढुङ्गामा परिणत भएछन् । भाञ्जाले पनि मामा के भयो भनेर छुँदा उनी पनि त्यस्तै भए । आज पनि ती राजा, रानी र भाञ्जाको मूर्ति मामीसती सवरिया मन्दिरमा देख्न सकिन्छ । उक्त मन्दिर पनि उनेै रानीको नामबाट राखिएको हो भन्ने विश्वास छ ।

पुरातात्विक महत्व

यस धाममा हाल त्यो बेलाको प्राचीन दरबार नभए पनि भूमही नदीले कटान गर्दा विभिन्न समयमा देखा परेका मूर्ति, चक्र, पर्खालमा प्रयोग भएका ढुङ्गा, माटाका भाँडाकुडा तथा दरबारका भग्नावशेष र ताम्रपत्रले यस धामको प्राचीनतालाई पुष्टि गर्दछ । ती ऐतिहासिक महत्वका वस्तुहरु अझै पनि यो क्षेत्रमा प्रशस्त छन् ।

यस क्षेत्रको उत्खनन गर्न सके यस्ता वस्तुहरु अझै पनि भेटिने सम्भावना छ । विसं २०५० सालमा नदी किनारमा प्राप्त ताम्रपत्र साविक रामनगर गाविस र पुरातत्व विभाग काठमाडौँमा सुरक्षित रहेको समितिका अध्यक्ष तिवारी बताउछन् ।

विभागका अनुसार उक्त ताम्रपत्रको भाषा विसं १२१२ को हो । यो धाममा रहेको नन्दीकेश्वरको टाउको विनाको मूर्ति पनि सोही समयको हो वा पहिलाको हो भन्ने प्रमाणित भइसकेको छैन ।
हाल यहाँ रहेको मूर्ति विसं २०२१/२२ सालमा सुगम स्थानमा सार्न खोज्दा गोरुगाडा भाँचिएर तत्कालीन पुजारीलाई सपनामा ‘म यसै स्थानमा बस्छु, अन्यत्र लैजाने प्रयास नगर’ भन्ने दीक्षा प्राप्त भएपछि क्षेदी यादवले सोही स्थानमा मन्दिरको बनाएको जनश्रुति पाइन्छ ।

यहाँका प्रस्तर मूर्ति र चक्र वाल्मीकि आश्रम र सुर्खेतको काँक्रेविहारको कलात्मक ढाँचासँग मिल्दोजुल्दो रहेको समितिले जनाएको छ । यो ऐतिहासिक धार्मिक तथा पर्यटकीय स्थललाई धार्मिक पर्यटनको केन्द्र बनाउन यहाँ लामो समयदेखि प्रयास हुँदै आएको छ । विसं २०६९ मङ्सिर २० देखि पुस ५ गतेसम्म ब्रह्माण्डीय सनातन धर्म महासभा नेपालले महारुद्र एवं पञ्चदेव धान्याञ्चल विराट ज्ञान महायज्ञ साथै ११ हजार १११ कन्या पूजनसहित यज्ञ सम्पन्न गरेको थियो ।

यसैगरी, बाबा बर्दगोरिया धाम विकास समितिको आह्वानमा नेपाल महर्षि वैदिक प्रतिष्ठानद्वारा विगत दुई वर्षदेखि अखण्ड रुपमा ३३ देखि ४४ जना वैदिक पण्डितहरुको सहभागिता र सहकार्यमा विश्व शान्ति ब्रह्मानन्द सरस्वती ज्ञान महायज्ञ सञ्चालित छ ।

लुम्बिनी, देवदह, रामग्राम, त्रिवेणीधाम हुँदै बर्दगोरिया धामलाई पनि बुद्ध सर्किटमै जोडी धार्मिक तथा पर्यटकीय क्षेत्र विस्तार गर्ने उद्देश्यले धाम विकास समिति र सुनवल नगरपालिकाको संयुक्त आयोजनामा यसैवर्ष सप्ताहव्यापी तीज मेला एवं धार्मिक महोत्सव सम्पन्न गरिएको थियो ।

पछिल्लो पटक पतञ्जली आयुर्वेद हरिद्वार भारतका अध्यक्ष तथा प्रबन्ध निर्देशक आयुर्वेद शिरोमणि आचार्य बालकृष्णले यसै धाम क्षेत्रमा ‘आचार्यकुलम’ स्थापना गर्ने तयारी पनि गरेका छन् ।

सुनवल नगरपालिकाले पनि यस धामको विकासका लागि उच्च महत्व दिएको नगर प्रमुख भीमबहादुर थापा बताउछन् । नगरपालिकाका अनुसार चालु आवमा बाबा बर्दगोरिया धाम विकासका लागि रु पाँच लाख, अमर पोखरी व्यवस्थापनका लागि रु १५ लाख र मामीसती सवरिया मन्दिर पूर्वाधार विकासका लागि रु ५ लाख विनियोजन गरिएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस