नुवाकोट । प्रदेश नं ३ का मुख्यमन्त्री डोरमणि पौडेलले डोजर किनेर ठेकेदारी गर्ने जनप्रतिनिधिलाई कारवाही गरिने बताएका छन्। विदुर नगरपालिका–५ को वडा कार्यालय भवन उद्घाटन गर्दै मुख्यमन्त्री पौडेलले कमाउने उद्देश्यले जनताका काम छाडेर आफैँ डोजर किन्दै ठेकेदारी गर्न थालेयस्ता जनप्रतिनिधिलाई कारवाहीे गरिने बताए ।
उनले भने, ‘जनताको काम गर्न आएका जनप्रतिनिधि आफैँ ठेकेदारी गर्नु गलत हो । पहिले ठेकेदारी गर्दै आएका भए पनि जनप्रतिनिधि भएपछि यो पेशा त्याग्नु पर्ने हुन्छ, आगामी दिनमा यो पेशशा गर्नेलाई सरकारले जनप्रतिनिधिबाट हटाउनेछ ।’
उनले ठेकेदारी गर्ने कार्यमा स्थानीय तहका जनप्रतिनिधिहरु वडाध्यक्ष, उपाध्यक्ष, अध्यक्ष, उपप्रमुख, प्रमुखसमेत क्रियाशील भएको गुनासो आउने गरेको बताए । जनताका काम गर्न छाडेर विभिन्न वहानामा ठेकेदारी गर्नेलाई प्रदेश सरकारले उन्मुक्ति नदिने उनको भनाइ थियो ।
कार्यक्रममा बोल्दै प्रदेशसभा सदस्य बद्री मैनाली, केशव पाण्डे, हिरानाथ खतिवडा र आशामाया तामाङले सङ्घीयताको आभास दिने आधार कार्यालय वडा कार्यालय भएकोले वडा कार्यालयले दिने सेवा र सुविधाहरु प्रभावकारी भए मात्र सङ्घीयताको वास्तविक अनुहार जनताले देख्न पाउने बताए।
यस्तै विदुर नगरपालिकाका प्रमुख सञ्जु पण्डितले जनताको काम छाडेर ठेकेदारी गर्दै हिँड्ने जनप्रतिनिधिलाई आफ्नो कर्तव्यअनुसारको काम गर्न सचेत गराइने र सचेत गराउँदा पनि नटेरमा कारवाहीको प्रक्रिया थालिने बताए ।







