स्वास्थ्य शिविरमा महिलाका समस्या बाहिर आउन थाले « प्रशासन
Logo ८ बैशाख २०८१, शनिबार
   

स्वास्थ्य शिविरमा महिलाका समस्या बाहिर आउन थाले


प्रशासन संवाददाता

१३ फाल्गुन २०७५, सोमबार


बेझाड । गाउँ गाउँमा आयोजना हुने स्वास्थ्य शिविरले महिलाका समस्या बाहिर ल्याउन ठूलो सहयोग मिलेको छ ।

महिला सकेसम्म स्वास्थ्य संस्थामा पुगेर आफ्ना समस्या बताउन हिचकिचाउने गर्छन् । यसले गर्दा पनि उनीहरु भित्रभित्रै रोगसँग लडेर बाँचिरहेका हुन्छन् । भित्रभित्रै रोगले पीडित बन्छन् तर सम्बन्धित ठाउँमा समस्या लिएर जाने गर्दैनन् ।

यस्ता महिलाका लागि गाउँ गाउँमा बेलाबेलामा आयोजना हुने स्वास्थ्य शिविरमा समस्या लिएर पुग्ने गरेको पाइएको छ । पाल्पाको रम्भा गाउँपालिका–२ फोक्सिङकोटमा सञ्चालन भएको एकदिने महिला प्रजनन स्वास्थ्य जाँच शिविरमा गाउँका महिलाले आफ्ना समस्या लिएर पुगेको पाइयो ।

स्वास्थ्य संस्थाको हातामा पुगेर आफ्ना समस्या स्वास्थ्यकर्मीसँग बताउन लाज मान्ने, डराउने महिला यहाँ आयोजना भएको शिविरमा भने मज्जाले समस्याबारे जानकारी गराएका छन् ।

शिविरमा सेवा लिएका १६५ महिलामध्ये ६२ महिलामा सेतो पानी बग्ने, ३ जनामा रिङ प्रेसर देखिएको र दुईलाई थप उपचारका लागि लुम्बिनी मेडिकल कलेज प्रभाष पठाइएको छ ।

शिविरमा २५ महिलामा अनियमित महीनावारी हुने, ५० मा बाथसम्बन्धी समस्या, १५ जनामा लुतो, ५ जनामा आङ खस्ने समस्या देखिएको रम्भा गाउँपालिका स्वास्थ्य शाखा संयोजक महेश आचार्यले बताए । साथै शिविरका अवसरमा सात महिलाले परिवार नियोजनका साधन इम्प्लान्ट तथा आयुसिडी सेवा लिएका छन् ।

गाउँपालिकाको आर्थिक सहयोग, लुम्बिनी मेडिकल कलेज प्रभाष, जिल्ला स्वास्थ्य कार्यालय र नेपाल परिवार नियोजन संघ पाल्पाको प्राविधिक सहयोगमा शिविर आयोजना गरिएको हो । महिलाको आङ खस्ने समस्या, अनियमित महीनावारी हुने जस्ता समस्यालाई समयमा नै पहिचान गरी रोग निराकरण गर्न शिविरले महत्वपूर्ण सहयोग पुगेको स्वास्थ्य कार्यालय पाल्पाका अधिकृत कल्पना पौडेलले बताइन्।

‘स्वास्थ्य चौकीमा जान हिचकिचाएर रोग लुकाएर बसेका महिला यसरी गाउँ गाउँमा आयोजना हुने शिविरमा आएर आफ्ना समस्या बताउन सक्नेभएका छन्’, उनले भने ।

गाउँगाउँमा निःशुल्क स्वास्थ्य शिविर आयोजना गरिन थालेपछि ग्रामीण भेगमा बसोबास गर्ने, स्वास्थ्य सेवाको पहुँचदेखि टाढा रहेका नागरिकलाई ठूलो सहयोग पुगेको छ । गाउँपालिकाको नीति तथा कार्यक्रमअनुसार गाउँगाउँमा स्वास्थ्य सेवा पुर्‍याउने उद्देश्यले शिविर आयोजना गरिएको गाउँपालिका अध्यक्ष विष्णुप्रसाद भण्डारीले जानकारी दिए ।

जिल्ला स्वास्थ्य कार्यालय, लुम्बिनी मेडिकल कलेज प्रभाष, जिल्ला अस्पताल, नेपाल परिवार नियोजन सङ्घ पाल्पा, ताहुँ प्राथमिक स्वास्थ्यचौकी र स्थानीय स्वास्थ्य एकाइमा कार्यरत १७ स्वास्थ्यकर्मीसहितको टोलीले शिविरमा सेवा दिएको हो ।

Tags :
प्रतिक्रिया दिनुहोस