बहपुरलाई सुन्तला पकेट क्षेत्रका रुपमा विस्तार गरिँदै « प्रशासन
Logo ११ बैशाख २०८१, मंगलबार
   

बहपुरलाई सुन्तला पकेट क्षेत्रका रुपमा विस्तार गरिँदै


प्रशासन संवाददाता

१२ फाल्गुन २०७५, आइतबार


बेझाड । सुन्तलाले प्रख्यात बनेको निस्दी गाउँपालिका–५ को गल्धा बहपुरलाई सुन्तला पकेट क्षेत्रका रुपमा विस्तार गरिएको छ ।

यस क्षेत्रमा सुन्तलाको उत्पादन वृद्धि हुँदै गएकाले गाउँपालिकाले पकेट क्षेत्र घोषणा गरेको हो । यसका लागि उक्त गाउँपालिकाले दुई लाख ७० हजार विनियोजन गरेको छ । १६ घरपरिवारको मुख्य आयस्रोत नै सुन्तला खेती बनेको यहाँ हाल २२५ रोपनी जमीनमा ३ हजार ६०० सुन्तलाका बोटमध्ये २ हजार १५० बोटबाट उत्पादन हुँदै आएको छ ।

अन्नबाली छाडेर सुन्तला खेतीमा लागेका बहपुरका किसानले यस वर्ष मात्रै २५ लाख बराबरको सुन्तला बिक्री गरेका छन् । २ मुरी अन्नबाली नफल्ने जग्गामा कृषकले सुन्तलाबाट अहिले लाखौँको आम्दानी गर्न थालेका छन् ।

कोदो, मकै, हिउँदे बाली र तरकारी लगाइने जग्गा हिजोआज सुन्तलाले भरिएका छन् । सुन्तलाको उत्पादन बढ्दै गएपछि बहपुर गाउँको नाम नै सुन्तलापुरले चिनिन थालेको छ । हिउँदे तरकारी र मकै बाली लगाउँदै आएका अगुवा कृषक तेजन सुनारीले विगत नौ वर्षदेखि करीब २० रोपनी जग्गामा सुन्तला खेती गर्दै आएका छन् ।

तीनसय बोट सुन्तला लगाएर वार्षिक रू साढे दुई लाखदेखि ३ लाखसम्म उनी आम्दानी गर्छन् । सुनारीले यस वर्ष सुन्तलाबाट रू ३ लाख आम्दानी गरेका छन् । ‘अन्नबाली लगाएर तीन महीनालाई पनि खान पुग्दैनथ्यो, सुन्तला लगाएपछि घर खर्च राम्ररी चलेको छ’ उनले भने ।
गुनविर थापा मगरले करीब पन्ध्र रोपनी जग्गामा ३०० बोट सुन्तला लगाएका छन् । २ मुरी मकै, तरकारी, गेडागुडी नफल्ने जग्गामा अहिले लाखौँको सुन्तला उत्पादन हुँदा उनी आफै दङ्ग छन् ।

‘मेहनत पनि नपर्ने पाखो बारीमा सुन्तला लगाएर राम्रोसँग घर खर्च र छोराछोरीको पढाइ खर्च चलेको छ’ उनले भने, ‘३०० बोट सुन्तलामध्ये १५० बोटबाट रू दुई लाख बराबरको आम्दानी हुँदै आएको छ ।’

सोही ठाउँकै ६१ वर्षीय मानबहादुर ढेँगाले पनि सुन्तलाबाट राम्रो कमाइ गर्दै आएका छन्। उनको बगैंचामा ४०० बोट सुन्तलामध्ये १५० बोटबाट वार्षिक एक लाख पचास हजारदेखि २ लाखसम्म आम्दानी हुन्छ ।

‘पहिला पहिला मकै, भट्टमास लगाइन्थ्यो, खासै उत्पादन हुदैनथ्यो, सुन्तलाबाट नसोचेको उत्पादन र कमाइ लिएको छु’ ढेँगाले भने । गाउँ पूरै सुन्तलाले ढाकिएको छ । यहाँ एक घरपरिवारले न्यूनतम पचास बोटदेखि ४०० बोटसम्म सुन्तला लगाएका छन् ।

तीन महीनालाई खान नपुग्ने जग्गामा सुन्तलाले राम्रो आम्दानी दिएको छ । सुन्तला खेती शुरु गरेपछि यहाँका कृषकको आयस्तर वृद्धि मात्र नभई दैनिक जीवनयापनमा पनि परिवर्तन आएको उक्त गाउँपालिकाका कृषि शाखा प्रमुख नवराज घिमिरेले बताए ।

‘बहपुर गाउँ पूर्वी पाल्पाकै सुन्तला खेतीका रुपमा परिचित भएको र सुन्तला लगाएर प्रशस्त आम्दानी लिन सकिने भएकाले यस क्षेत्रलाई पकेट क्षेत्रका रुपमा विस्तार गरिएको हो” उनले भने । सुन्तलाको बगैंचाभित्र कृृषकले गेडागुडी, तरकारी, अदुवाका बाली पनि लगाएर दोब्बर आम्दानी पनि लिइरहेका छन् ।

Tags :
प्रतिक्रिया दिनुहोस