बलात्कृत शब्दहरू « प्रशासन
Logo ६ बैशाख २०८१, बिहिबार
   

बलात्कृत शब्दहरू


प्रशासन विशेष ब्युरो

११ फाल्गुन २०७५, शनिबार


निर्जन अनकण्टारमा हर प्रहर
म चिच्याई रहेथें !
तिमी मञ्च भरि गड्गडाहट
तालीमा प्रजातान्त्रिक शब्द
छाटिरहेथ्यौ !!

युगयुगान्तरका परिवर्तनहरू
त्यो विशेष दिनमा
जोडिरहेथ्यौ !
निरङ्कुशता,प्रपञ्च अनि
लोकतन्त्रका बिशेषताहरु !

विकासमा महिला,विकास र महिला
सामाजिक लिङ्गभेद,मुलप्रहिकरण !
खै के के हो के के अरू पनि
आरक्षण ,सकारात्मक विभेद
सामाजिक न्याय र रामराज्यका कुराहरु !

परिवर्तनका नाममा छातीभरि
खोपिएका युद्धका डोबहरू !
यसै यसै चहराईरहेथे
हराएकाहरू भेटिने आसमा
मनले मनलाई निर्लज्ज ढुक्क पारिरहेथे  ।।

यही आसमा चन्दननाथ ,भैरवनाथमा
भिडको घुइँचो घटेको थिएन !
असीमयको उवाले पखाला रोकिएको थिएन !!
तिम्रो सुचीमा समेटिएका विशेष शब्द लाग्नेहरू
यति मात्र थिएनन् जो पूर्णता खोजिरहेथे !!

तिमी राजधानीमा समकालीन समयकै
बडो झन्डा फहराई रहेथ्यौ
उता दुरदराज भोकमा मर्दै थियो
शीत ताप छल्न नपाई कठ्याङ्रग्रिदै
सुक्दै ,लाचार बन्दै थियो !

घरघरमा सभ्य तवरले विभेद रचिँदै थियो !
सुखी परिवारको नाउँमा सातौँ सन्तान
अबोर्सनको तरखरमा थियो !
यस्तो बेला म कसरी सुखी शब्द लेख्न सक्छु
जहाँ शब्द पनि वेशमयको रेपमा पर्दै थियो !!

Tags :
प्रतिक्रिया दिनुहोस