मानव स्वास्थ्यमा असर पार्ने उद्योग बन्द गर्न माग « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

मानव स्वास्थ्यमा असर पार्ने उद्योग बन्द गर्न माग


८ फाल्गुन २०७५, बुधबार


काठमाडौं । गैरकानूनीरुपमा मानवबस्तीमा सञ्चालित आसफाल्ट (अलकत्रा पगाल्ने) उद्योग बन्द गराउन ललितपुर महानगरपालिका वडा नं ४ बाग्डोलस्थित मलपोखरीका स्थानीय बासिन्दले माग गरेका छन् ।

उद्योगले निकाल्ने धुवाँ र ध्वनि प्रदूषणका कारण मानव स्वास्थ्यमा प्रतिकूल असर परेको भन्दै स्थानीय बासिन्दाले विरोध जनाएका हुन् । स्थानीयवासीले महानगरपालिकाको कार्यालयमा उजुरी दर्ता गराउँदै त्यस्ता उद्योग हटाउन माग गरेका छन् ।

बाग्डोल विकास सेवा समाजका अध्यक्ष राजेश कार्कीले सो स्थानमा सञ्चालित आसफाल्ट उद्योगका कारण मानव स्वास्थ्यमा नकारात्मक असर परेको बताए । अस्पताल खोल्ने भन्दै झुक्काएर आसफाल्ट प्लान्ट खोलिएको उनले सुनाए । उद्योग विभागबाट भससाविक कीर्तिपुर गाविसमा दर्ता भएको उद्योगले ललितपुरमा बाग्डोलमा प्लान्ट राखेको छ ।

विसं २०५३ पुस ९ गते काठमाडौँमा दर्ता भएको नेपाल आदर्श कम्पनीले कीर्तिपुरमा वर्कसप तथा ग्यारेज राख्नका लागि अनुमति लिएको थियो । उद्योग दर्ता प्रमाणपत्रमा तोकिएको स्थानभन्दा बाहिर बाग्डोलमा आसफाल्ट उद्योग सञ्चालन गरी कानून उल्लङ्घन गरेको स्थानीय बासिन्दाको भनाइ छ । कम्पनीलाई विसं २०७१ माघमा मन्त्रिपरिषद्को निर्णयअनुसार रु पाँच लाख जरिवाना गरिएको महानगरपालिकाले जनाएको छ ।

कम्पनीले सरकार र सम्बन्धित निकायले दिएको निर्देशनसमेत अवज्ञा गर्दै आएको छ । वातावरण विभागबाट अनुगमन हुँदा गैर कानूनीरुपमा उद्योग सञ्चालन गरेको र वातावरण प्रदूषण गरेको भन्दै रु ५० हजार जरिवानासमेत गरेको थियो ।

ब्रह्मायणी महिला समूह बाग्डोलकी अध्यक्ष जयमाला ढुङ्गानाले आसफाल्ट प्लान्ट सञ्चालनका कारण प्रदूषण भएको, बच्चा बिरामी भइरहने गरेको दुःखेसो पोखे । हावा चलेका बेला कालो धुलो आउने, सुकाएका लुगा सबै मैला हुने गरेको छ । बिहान उठ्दा घाँटी दुख्ने, बच्चालाई टाउको दुख्ने समस्या आएको स्थानीय रुपा दङ्गालले गुनासो गरे ।

गुनासो सुनेपछि महानगरपालिकाका प्रमुख चिरीबाबु महर्जनले अवैध आसफाल्ट प्लान्ट बन्द गराउने प्रतिबद्धता व्यक्त गरे । वडा अध्यक्षको समन्वयमा महानगरपलिकाले स्थानीयवासीको साथ लिएर मानवबस्तीमा कम्पनी सञ्चालन गर्न नदिने बताए ।

‘वातावरण प्रदूषण गर्ने यस्तो उद्योग मानवबस्तीमा सञ्चालन गरेर म नगरवासीको स्वास्थ्यमा खेलबाड गर्न दिन्नँ, त्यो कम्पनीको चिम्नीबाट धुवाँ आयो भने मलाई खबर गर्नुस्, म जे गर्नु पर्छ, त्यो सबै गर्छु’, प्रमुख महर्जनले गैरकानूनी काम गर्नेलाई छुट नदिने उल्लेख गर्दै भने । प्लान्ट बन्द नगरिए कडा आन्दोलनमा उत्रन बाध्य हुनुर्ने स्थानीयवासीको चेतावनी छ ।रासस

Tags :
प्रतिक्रिया दिनुहोस