पोखरा म्याराथनको उपाधि हरिकुमार रिमाललाई « प्रशासन
Logo ७ बैशाख २०८१, शुक्रबार
   

पोखरा म्याराथनको उपाधि हरिकुमार रिमाललाई


७ फाल्गुन २०७५, मंगलबार


कास्की । तेह्रौँ संस्करणको ‘सफल पोखरा अन्तर्राष्ट्रिय म्याराथन’को उपाधि नेपाली सेनाका हरिकुमार रिमालले जितेका छन् ।

भूतपूर्व खेलाडी मञ्चको आयोजनामा आज भएको प्रतियोगितामा दुई घण्टा ४० मिनेट १० सेकेण्डको समयमा निर्धारित दूरी पार गर्दै उनले उपाधिसहित नगद रु एक लाख पुरस्कार प्राप्त गरेका छन् ।

पोखरा रङ्गशालाबाट शुरु भएको म्याराथन पोखराका विभिन्न स्थान परिक्रमा गर्दै पुन रङ्गशालामा नै आएर टुङ्गिएको थियो । त्यस्तै सशस्त्र प्रहरीका खिमबहादुर खत्रीले दोस्रो स्थान हासिल गरे ।

दुई घण्टा ४० मिनेट २० सेकेण्डको समयमा लक्ष्य पूरा गरेका उनले रु ७० हजार पुरस्कार पाए ।

नेपाल प्रहरीका भूमिराज राईले तेस्रो स्थान हासिल गर्दै रु ५० हजार पुरस्कार पाए । उनले दुई घण्टा ४१ मिनेटको समयमा निर्धारित दूरी पार गरेका थिए ।

सान्त्वना भएका सेनाका पूर्ण तामाङले रु सात हजार पुरस्कार प्राप्त गरे ।

विजेता खेलाडीलाई गण्डकी प्रदेशका सामाजिक विकासमन्त्री नरदेवी पुन, मुख्य प्रायोजक लक्ष्मी ग्रुपका अध्यक्ष गणेशबहादुर श्रेष्ठ, प्रदेशसभाका सदस्य कृष्ण थापालगायतले पुरस्कार वितरण गरे ।

प्रतियोगिताको उद्घाटन गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले गरेका थिए ।

प्रतियोगितामा म्याराथनसहित १० किलोमिटर महिला तथा पुरुष दौड, पाँच किलोमिटर छात्र तथा छात्रा दौड, अपाङ्गता भएका लागि ४०० मिटर पुरुष तथा १०० मिटर महिला र १०० मिटर दृष्टीविहीन ह्विलचियर प्रतियोगिता गरी आठ इभेन्टमा प्रतिष्पर्धा भएको थियो ।

Tags :
प्रतिक्रिया दिनुहोस