राजश्व चुहावटमा संलग्न ८ जनाविरुद्ध विशेष अदालतमा आरोपपत्र दायर « प्रशासन
Logo ३ जेष्ठ २०८१, बिहिबार
   

राजश्व चुहावटमा संलग्न ८ जनाविरुद्ध विशेष अदालतमा आरोपपत्र दायर


प्रशासन संवाददाता

१ फाल्गुन २०७५, बुधबार


काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आपसी मिलेमतोमा भन्सार प्रज्ञापनपत्रमा मालवस्तुको गलत घोषणा गरी राजश्व चुहावट गर्ने कार्यमा संलग्न रहेको आरोपमा आठ जनाविरुद्ध आज विशेष अदालतमा आरोपत्र दायर गरेको छ ।

रसुवा भन्सार कार्यालय टिमुरेमा कार्यरत भन्सार अधिकृत पवित्रकुमार खड्का, सोही कार्यालयका नायब सुब्बा धिरजकुमार थापा, मितेरी इन्टरनेशनल ट्रेडर्सका प्रोपाइटर सुमन श्रेष्ठ र रञ्जन त्रिपाठी, लाङटाङ ट्रेड कन्सर्नका प्रोपाइटर तथा सवारीधनी धनबहादुर तामाङ, नेपाल बङ्गलादेश बैंकले गाडी नामसारी गर्न पत्राचार गर्ने आकाश श्रेष्ठ, गाडी जिम्मा लिएका व्यक्ति निरञ्जन त्रिपाठी र गाडी चालक डम्बरबहादुर श्रेष्ठविरुद्ध आरोपपत्र दायर गरेको हो । उनीहरुविरुद्ध जनही सात करोड ५९ लाख ६३ हजार १९० रुपैयाँ १२ पैसा बिगो मागदाबी गरिएको छ ।

भन्सार अधिकृतको मिलेमतोमा उनीहरुले थाइल्याण्डमा निर्मित दुई हजार १६० जोडी महिलाले लगाउने जुत्ताको उत्पत्ति मुलुक चीन देखाई उत्पत्तिको मुलुक फरक पारी गलत घोषणा गरिएकामा रसुवा भन्सार कार्यालयबाट जरिवाना नगरी छाडिएको अनुसन्धानका क्रममा पाइएको अख्तियारले जनाएको छ ।

त्यस्तै आयोगले अदालतमा विचाराधीन मुद्दा मिलाइदिने भन्दै सेवाग्राहीसँग रु ५ लाख घुस लिएको आरोपमा जिल्ला अदालत बबरमहलका फाँट नं २६ मा कार्यरत नायब सुब्बा भोलानाथ चालिसेविरुद्ध समेत विशेष अदालतमा आरोपपत्र दायर गरेको छ ।

आयोगले भ्रष्टाचार निवारण ऐन, २०५९ अनुसार कसुर गरेको पुष्टि भएका निज चालिसेसँग रु ५ लाख बिगो जरिवाना र कैद सजया मागदाबी लिई आरोपपत्र दायर गरेको हो । काठमाडौँ जिल्ला अदालतका न्यायाधीश बाबुकाजी बानियाँको इजलासमा विचाराधीन रहेको सवारी ज्यान मुद्दाका प्रतिवादीलाई सजाय कम गराइदिने भन्दै निज नासु चालिसेले सेवाग्राहीसँग घुस मागेका आयोगले जनाएको छ ।

आयोगले न्यायाधीश बानियाँको सल्लाह र सहमतिमा घुस लिएको नासु चालिसेले बयान दिएकाले अनुसन्धानका सिलसिलामा प्राप्त प्रमाणसहित न्यायाधीशको हकमा अनुसन्धान गर्न न्याय परिषद्मा लेखी पठाइएको प्रवक्ता रामेश्वर दङ्गालले जानकारी दिए।

प्रतिक्रिया दिनुहोस