आठ हजार कुष्ठरोगीको उपचार « प्रशासन
Logo १६ चैत्र २०८०, शुक्रबार
   

आठ हजार कुष्ठरोगीको उपचार


प्रशासन संवाददाता

२४ माघ २०७५, बिहिबार


काठमाडौं । लेलेस्थित आनन्दवन अस्पतालमा आठ हजार कुष्ठरोगीले उपचार गराएका छन् ।

गत वर्ष अस्पतालको बहिरङ्ग विभाग (ओपिडी) मा सात हजार ८०५ र भर्ना भएका ७९१ बिरामीको उपचार भएको अस्पतालले जनाएको छ ।

रोग लागेपछि अस्पतालमा जचाउनुपर्छ भन्ने भावना बढ्दा अस्पतालमा आउने बिरामी सङ्ख्या बढिरहेको अस्पतालका तालिम संयोजक गोपाल पोखरेलले बताए । पहिले कुष्ठरोग लागेपछि धामीझाँक्री कहाँ जाने वा रोग लुकाएर बस्ने गरेका थिए तर जनचेतना वृद्धिसँगै कुष्ठरोगका बिरामी अहिले उपचारका लागि अस्पताल आउने गरेका छन् ।

उनले भने, ‘कुष्ठरोगप्रति रहेको गलत धारणा कम हुँदै जाँदा उपचारका लागि अस्पताल आइपुग्ने विरामीको सङ्ख्या बढ्दो छ ।’

नेपाल कुष्ठरोग निवारण घोषणा भएको एक दशक पुगेको छ । संयोजक पोखरेलले भने, ‘एक दशक पहिले यो रोग निवारणको घोषणा गर्दाभन्दा अहिले नयाँ बिरामी सङ्ख्या बढिरहेको राष्ट्रिय तथ्याङ्कले पनि देखाएको छ ।’

अहिले पनि यो रोग लागेका व्यक्तिलाई परिवार र समाजले हेलाको दृष्टिले हेर्दा बिरामी उपचारका लागि हतार नगरेको अस्पतालका कुष्ठरोग विशेषज्ञ डा महेश साहले बताए । यो रोग वंशाणुगत पनि नभएको र खानपानका कारणले पनि एक व्यक्तिबाट अर्कोमा नसर्ने उनले बताए । कुष्ठरोग लागेर पनि उपचार शुरु नगरेका बिरामीबाट मात्रै रोगको किटाणु एक व्यक्तिबाट अर्कोमा सर्ने उनले बताए ।

अस्पतालको बहिरङ्ग विभागमा सन् २०१७ मा सात हजार ८०५, सन् २०१६ मा छ हजार २१२, सन् २०१५ मा सात हजार २१६ र सन् २०१४ मा पाँच हजार ५१८ बिरामी उपचारका लागि अस्पताल आएका थिए ।

गत वर्ष ४४२ कुष्ठरोगीलाई अस्पतालमा शल्यक्रिया गरिएको थियो । अस्पतालले ३० बिरामीको रोग निदान प्रमाणित गरेको थियो । रोग निदान प्रमाणित गर्न नेपाल सरकारले यस अस्पताललाई मात्रै मान्यता दिएको छ । स्वास्थ्य सेवा विभागको कुष्ठरोग नियन्त्रण तथा अपाङ्गता व्यवस्थापन शाखाको तथ्याङ्कअनुसार यस वर्ष देशभरमा जम्मा नयाँ बिरामी सङ्ख्या तीन हजार १८७ रहेको छ ।

प्रतिक्रिया दिनुहोस