हिमपातले एसइई तयारी कक्षा प्रभावित « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

हिमपातले एसइई तयारी कक्षा प्रभावित


प्रशासन संवाददाता

२४ माघ २०७५, बिहिबार


डोल्पा । हिमाली जिल्ला डोल्पामा आज बिहानैदेखि भारी हिमपात शुरु भएको छ ।

हिमपातका कारण जिल्लाका विभिन्न विद्यालयमा एसइई परीक्षाको तयारी कक्षा लिइरहेका एक हजारभन्दा बढी विद्यार्थीको पठनपाठन प्रभावित भएको छ ।

‘यस वर्ष लगातार चौथो पटकसम्म परेको हिमपातले चिसो अत्यधिक बढेको छ, बढ्दो चिसोका कारण एसइई तयारी कक्षा लिन आउन विद्यार्थीको सङ्ख्या अत्यधिक घटेको छ,’ जनप्रभा मावि लिकुका शिक्षक दीपक पराजुलीले भने । ‘बिहानैदेखि हिमपात हुन थालेपछि विद्यालय चौरमा बाक्लो हिँउ जमेको छ, चिसोका कारण कोठाबाट बाहिर निक्लन पनि मुस्किल परेकाले आजको तयारी कक्षासमेत प्रभावित हुने पक्का भएको छ ।’

जिल्लाका जनप्रभा मावि लिकु, त्रिपुराकोट मावि मद्यु, आदर्श मावि जुफाल, सरस्वती मावि दुनै लगायतका आधा दर्जन विद्यालयमा एसइई तयारी कक्षा सञ्चालन भइरहेको छ । हिमपातका कारण बढेको चिसोले कोठामै बसेर पढन सकिने भए पनि हात बाहिर झिकेर लेख्न गाह्रो हुने जनप्रभा माविमा एसइई तयारी कक्षा लिइरहेकी छात्रा सरीता देवकोटाले बताए । कोठा बाहिरै बाक्लो हिउँ जमेकाले शौचालय जानसमेत समस्या हुने गरेको छ भने खाना पकाउन भान्सामा जानसमेत गाह्रो भएको उनको भनाइ छ ।

यसअघि तेस्रो पटकसम्म परेको हिँउ बिलाउन नपाउँदै पुनः हिमपात शुरु भएपछि डोल्पालीको जनजीवन थप कष्टकर बनेको छ भने पशुवस्तुलाई घाँसपात गर्नसमेत समस्या भएको छ

Tags :
प्रतिक्रिया दिनुहोस