सडकको आवाज सदनमा कहिले सुनिन्छ ? « प्रशासन
Logo १७ आश्विन २०७९, सोमबार
   

सडकको आवाज सदनमा कहिले सुनिन्छ ?


शान्ति बस्नेत

२२ माघ २०७५, मंगलबार


नारी

‘नेपाली हौँ वीर झुक्दैन न यो शिर’ भन्ने गीत यता कतै गुञ्जदा पनि  सुन्दा नै आनन्द आउने गर्छ । तर नेपालीहरू आफ्नो दुःखलाई लुकाउन सकेसम्म नेपालीले नै दुःख भोगेर लुकाउन हामी सबै तयार हुन्छौँ । जस्तोसुकै आपत् विपतमा पनि हामीहरू आफू मरेर भए पनि यो देशको नामलाई जोगाई राख्न हामी एकजुट हुने गरेका छौँ । शान्तिको देश बुद्धको जन्मभूमि भनेर विश्वव्यापी रूपमा चिनिने देश नेपाल आज नारीहरूलाई एउटा अस्तित्वविहीन प्राणीको स्थानमा राखिएको छ ।

नारीलाई भ्रुंणदेखि वृद्ध हुने वेलासम्म हेला गर्छन् । यो समाजमा कहिले काहीँ नारी भएर जन्म लिँदा हीनताको बोध हुने गर्दछ । नारी भएर यो धर्ती मातामा पाइला टेकेर भूल भएछ झैँ लाग्छ । देशमा रात दिन नभनी यो देशलाई बढी नै माया गर्ने नारी र आमालाई हाम्रो देशमा किन दोस्रो दर्जामा राखिएको छ ? यो आम नारीहरूको आवाज हो । किन नारीको जताततै नारीको अस्तित्व मेटिने गरी हिंसात्मक गतिविधि बढ्दै गएका छन् ?

सरकार मात्रै हैन, नारीको लागि केही गर्छु भनेर पदमा आसीन महिला नै नारीको विषयमा मौन हुने गरेका छन् । नारी हरेक कुराहरूमा पछाडि पर्दासम्म किन कसैको आवाजलाई सडक देखि सदनसम्म आउँदैन । अब नारीको मर्म नारीले नै बुझ्ने कोसिस गरिदिनु पर्छ । नारीलाई पुज्ने हैन नारीको भावनालाई सम्मानका साथ बुझ्नु पर्दछ । नारीलाई अनुभूति हुने शान्ति सुरक्षा दिलाउन सक्नु पर्छ । नारीले पनि यो देशका निम्ति नाम, दाम दण्ड भेद सबै कमाउन सक्ने हैसियत आजका दिनसम्म आउँदा गर्न सक्ने भएका छन् । तर के गर्नु ? समाजमा बस्ने नै मानव नामदा कु-कर्मबाट ख्याति कमाउन जागरुक भएका दानव जातिले नारीको सम्पूर्ण अस्तित्वमा दाग लगाउन मात्रै हैन नारीको ज्यानसम्म पनि लिनपछि परेका छैनन् । यो समाज पहिला भन्दा धेरै नै अग्रसर र शिक्षित बनी सकेको छ । तर यहाँ बस्ने मानिसहरूको सोच भने एकदमै सङ्कुचित नै हुने गरेको छ ।

समाजमा अब नारी भनेर पहिला जस्तै नारीले मात्रै नारीको काम वा घर धन्दा चुलो चौका र घाँस दाउरा र मेलापात गर्ने मात्रै नारीको काम हो भनेर यसरी सोच्नु नै हाम्रो कमजोरी हो । नारी पुरुष बराबरी भनेर हामीले विभिन्न पुस्तकमा लामो समय देखि नै अध्ययन गरेर आई रहेका छौँ । ज्ञानका कुराहरूलाई अब त व्यवहारमा पनि ल्याउन प्रयास गरिरहेका कुरा हामी सबैलाई दैनिक क्रियाकलाप गर्दा थाहा नै भएको छ । यस्ता कुरा थाहा हुँदाहुँदै पनि नेपालीको बानी खाली सिद्धान्तप्रति विश्वास गर्ने मूल आधार लाग्ने गर्छ । परिवर्तन त स्वयम् आफूबाट नै हुनुपर्छ । यहाँ पञ्चायत कालदेखि नारीलाई गरिने भेदभावको हिसाब किताब हेर्ने हो भने त्यो स्थितिबाट यो स्थितिसम्म आउँदा त आकाश पत्तालकै फरक मान्नु पर्छ । नेपालीको बानी केही भएन भनेर खाली गुनासो मात्रै गर्दै हिंड्छौ ।

अब हामी आफैले पनि केही गर्नु पर्छ भन्ने सोच राखेर अघि बढ्नु पर्छ भनेर अघि बढ्नु पर्ने आजको आवश्यकता हो । नारी हो यो समाजमा सुरक्षाको हिसाबले पुरुषको तुलनामा एकदमै कमजोर वर्गमा परेका छौँ । हामीहरूलाई कमजोर पुरुषहरूले बनाएका हैन । यो समाजमा सोच्न सक्ने क्षमता नभएका कमजोर मानिसका दानवहरूले नारीको जीवन माथि खेलबाड गरेर यो समाजमा नारीलाई सिकार बनाई रहेका छन् । अब त्यस्ता सिकार गर्ने मानिसहरूको जालमा नफस्ने वातावरण बनाउन सम्पूर्ण नारी र पुरुषहरू एक हुनुपर्छ । कुनै पनि नारी जो कोहीबाट सुरक्षित हुन्नन् भने त्यस्ता कु-कर्म गर्न दुस्प्रयास गर्ने दावनलाई नातावाद, कृपावादले ढाकछोप नगरौं यस्तो ढाकछोप गर्ने क्रृयाकलापले नै नारी माथिको धेरै अस्मितता लुटिरहेका छन् ।

आजका दिनसम्म पनि पुरुषका तुलनामा कमै मात्रमा पद र प्रतिष्ठामा आसीन हुनुहुन्छ । सडकका नारीका आवाजलाई सदनसम्म पु¥याउने हैसियत त्यति सुधारिएको छैन । त्यही भएर पनि नारीको आवाज सदनमा ओझेलमा पर्ने गरेको छ । जो जति नारी उच्च पदमा पुगेको भए पनि नारीहरूलाई पुरुष प्रदान देशको नै हालिमुहाली अझै पनि चलेकोले आवाजलाई स्वतन्त्र रूपमा प्रस्फुटन गर्न मनाही नै जस्तो छ ।

पुरुषले भनेको मात्रै चल्ने, नारीको चाहिँ केही पनि सबैको माझ समस्या राख्दा पनि सुनुवाइ नै नहुने चलन अझै पनि व्यापक रूपमा चलि नै रहेको छ । नारीलाई भन्ने गरिन्छ : नारी बोल्न नै सक्दैनन्, नारी कहाँ गएर बोल्ने त ? केही अलि कति धेरै बोल्यो भने उख्खान टुक्का जोडिदिन्छन्, ‘पोथी बासेको अशुभ हुन्छ।’

यस्तै अन्धभक्ताहरुले गर्दा त नारीलाई विभिन्न किसिमबाट हिंसामा पारिन्छन् त ! के गर्नु यो समाजले नारीलाई दबाउने किसिमका मात्रै संस्कृतिको पनि व्यवस्था गरेको छ । अब यस्ता विभिन्न संस्कृतिलाई हटाउने मानसिकता हैन, तर नारीलाई कुनै कुरामा पछाडि बनाइने खालका र नारीलाई सुरक्षा परिधि भन्दा बाहिर राखेर बनाइएका सम्पूर्ण संकृतिलाई हामीले त्यसको जरो नै फाल्ने गरिने खालका काम गरिनु पर्छ । नारीका विषयमा संविधानका ठेलीमा पनि राम्रा राम्रा सकारात्मक कुराहरू ती हातहरूले कम्पन गर्दै लेख्नु भएको त छ नि ! तर विडम्बना के छ, भने त्यही ठेलीमा भएका कुराहरूलाई नारी माथि जताततै हिंसा हुँदा ठेली पल्टाएर कारबाही गर्न सक्नु भएन । हो यो हामी सम्पूर्ण नारीहरूको गुनासो हो, संविधानका पानाहरूमा सजाउने पुस्तकालयमा सजाउने र नारीलाई अब सैद्धान्तिक रूपमा सुरक्षित बनाउने प्रयास नगर्नु होला । नारीलाई व्यवहारिक रूपमा सुरक्षित बनाइनु पर्छ ।

नारीलाई अबका दिनमा ती संविधानका धारा र उपधारा कोर्ने कलम समाउने अधिकारदेखि सामान्य पुरुष जति बोल्न सक्ने अधिकार दिएपछि मात्रै पनि नारीहरू माथि त्यत्रो हिंसाको सिकार बन्नु पर्दैन थियो । नारीलाई नारीको रुपधारण गरेर सुरक्षाको तवरमा सुरक्षाको व्यवस्था दिन सक्ने आत्मादेखि नै नारी माथि सम्मान व्यवहार दिन सक्ने प्रावधान मिलाउन सक्नु पर्छ । नारीले आफू सुरक्षित छु, भन्ने भरोसा गर्न सक्ने वातावरण हुन्छ ।

सम्मान सैद्धान्तिक हैन नारीलाई व्यवहारिक चाहिएको छ । नारीलाई पनि सुरक्षित हुने खालको वातावरण सृजना गरी समृद्ध देश बनाउनका निम्ति सबै जना एकजुट हुन आह्वान पनि हामी नारीहरूले गर्छौ । सबै यो समाजमा बसोबास गर्ने मानिसहरूले सकारात्मक सोच बनाएर सबैका लागि सुरक्षा भन्ने मूल नारालाई आत्मासाथ गरी अगाडि बढेमा नारीलाई “खै त सुरक्षा ? खै त अधिकार ?’ भनेर सडक र सदनमा आवाज निकाल्नु पर्दैन थियो । साथै नारी हुँ भनेर विभिन्न किसिमका तनावपूर्ण वातावरणमा ज्यूँनु पर्ने अवस्था आउने थिएन ।

त्यसैले सभ्य र भव्य समाज निर्माणका लागि हामी “आधा आकाश नारी, आधा आकाश पुरुष’ भन्ने वाक्यांशलाई सार्थकता दिन आफ्ना आफ्नो स्थानबाट जसरी सकारात्मक कुराहरूको बढी आगमन गर्न सकिन्छ । अब नकारात्मक कुराहरू गर्न बन्देज गरौँ । सकारात्मक काम र कुराको व्यापक व्यवहारमा ल्याउने कोसिस गर्नु पर्छ । नारीहरूलाई समाजमा सकारात्मक र रचनात्मक काम गर्न अवसर दिनु पर्छ । अनि मात्र यो समृद्ध समाजको अवधारणालाई व्यवहारिक रूपमा अनुभव गर्न सकिन्छ । देशलाई सभ्य वातावरण बनाउन र विभिन्न खालका विकासका कामहरूलाई गति लिन दिन महिलाको विशेष भूमिका रहने गर्दछ ।

समाज परिवर्तन गर्ने नै हो, भने नारीलाई पनि पुरुष बराबरी स्थान दिइएर कामहरूमा सक्रृया बनाउन सक्नुपर्छ । अबका दिनहरूमा नारीहरूलाई अधिकारको नाम र सुरक्षाको नाममा सडक र सदनमा भिख माग्ने भिखारी नवनाइदिइयोस् । नेपालकी छोरी नेपाली हुँ भनेर जुनसुकै स्थानमा पनि उच्च शिर बनाएर हिँड्न सक्ने छोरी बन्न चौतर्फी सकारात्मक सन्देश दिन सकौँ, सिकौँ र सिकाऊ ।

प्रतिक्रिया दिनुहोस