सडक विस्तारपछि व्यापार फस्टायो « प्रशासन
Logo १५ चैत्र २०८०, बिहिबार
   

सडक विस्तारपछि व्यापार फस्टायो


प्रशासन संवाददाता

२ माघ २०७५, बुधबार


भरतपुर । नारायणगढ–मुग्लिन सडकखण्डमा कुनै समय यात्रु र स्थानीयवासीले सबैभन्दा धेरै सास्ती खेप्नु पथ्र्यो । यो सडकको नाम लिने बित्तिकै धेरैको आङ सिरिङ्ग हुन्थ्यो । चार वर्ष लगाएर सडक निर्माण सम्पन्न गरिएसँगै सो क्षेत्रको मुहार फेरिएको छ ।

नारायणगढ–मुग्लिन सडकखण्ड विस्तार गरिएपछि यस क्षेत्रका होटल तथा रेष्टुरेष्टको व्यापार व्यवसाय फस्टाएको छ ।’चार वर्षसम्म धुलो र पहिरोको सास्ती भोग्यौँ,’ भरतपुर महानगरपालिका–२९ खहरेका रेष्टुरेष्ट व्यवसायी नारायणकुमार मगरले भने’, व्यापारको त कुरै छाडौँ, घरमा समेत बस्न सक्ने अवस्था थिएन ।’सडक विस्तारपछि व्यापार चार गुणाले वृद्धि भएको उनको भनाइ छ ।

सडक विस्तारपछि उक्त सडकखण्डमा यात्रा गर्नेको सङ्ख्या बढेको छ ।’धुलो र अत्यधिक जामका कारण चालक र यात्रुले गाडी रोक्न मान्दैनथे,’ मगरले भने, ‘अहिले यात्रुले यही खाजा/खाना खान्छौँ भन्ने गरेका छन् ।’ घण्टौँ लाग्ने बाटो अहिले करीब ३० मिनेट छोट्टिएको छ । भरतपुर र नारायणगढ बजारका बासिन्दा समेत ढिँडो र लोकल कुखुराको स्वाद लिन आउने गरेको मगरले बताए । ‘सडक विस्तार गर्नु अघि दैनिक रु ५ हजासम्म व्यापार हुन्थ्यो, अहिले दैनिक रु ३० हजारसम्मको व्यापार हुन्छ ।’ सामान्य चिया पसल गर्नेका पनि व्यापार फस्टाएको छ ।

दासढुङ्गामा होटल व्यवसाय गरिरहेका भरतपुर महानगरपालिका–२९ का वडाध्यक्ष मानबहादुर मगर सडक स्तरोन्नतिका कारण सुस्ताएको व्यापारमा वृद्धि भएको बताउछन् । ‘अहिले सडकको अवस्थामा निकै सुधार आएको छ, हाम्रो व्यापार पनि बढेको छ’, उनले भने । पछिल्लो समय यस क्षेत्रका अधिकांश होटल व्यवसायीले खाना गुणस्तरमा समेत ध्यान दिएको पाइएको छ ।

होटल व्यवसायी संघ चितवन, रामनगर सिमलताल एकाइका अध्यक्ष रामबहादुर गुरुङ सडकको अवस्थामा सुधार आएपछि अधिकांशले सवारीसाधन रोक्ने गरेको बताउछन् ।’अहिले सबैले यही सडकखण्ड प्रयोग गर्न थालेका छन,’ उनले भने ।

सो सडकखण्डअन्तर्गतका होटल तथा रेष्टुरेन्टलाई व्यवस्थित गर्न थालिएको छ । नारायणगढ–मुग्लिन सडकखण्ड अन्तर्गतका रामनगर, जुगेडी, दासढुङगा, खहरे, चौधकिलो, गाइघाट, घुमाउने, सिमलताल, जलविरेलगायत क्षेत्रको व्यापार व्यवसाय अहिले फस्टाएको छ । सो सडकखण्डमा व्यवसायी संघमा आवद्ध ५४ तथा अन्य साना ठूला गरी करीब दुई सय होटल र रेष्टुरेन्ट छन् ।

प्रतिक्रिया दिनुहोस