किबी खेतीबाट पन्ध्र लाख आम्दानी « प्रशासन
Logo ४ बैशाख २०८१, मंगलबार
   

किबी खेतीबाट पन्ध्र लाख आम्दानी


प्रशासन संवाददाता

२३ पुस २०७५, सोमबार


बनेपा । कतिपय मान्छेको जागिरे जीवनपछि के गर्ने भन्ने विषयमा सोच्दा सोच्दै श्रम गर्नसक्ने समय व्यतित भइसकेको हुन्छ । सूर्यप्रसाद पाण्डेले भने जागिरे जीवनपश्चात किबीखेती गरेर मनग्य आम्दानी गर्दै आएका छन् ।

नेपाल कृषि अनुसन्धान परिषद्का पूर्व निर्देशकसमेत रहेका काभ्रेपलाञ्चोकको तेमाल गाउँपालिका–६ का पाण्डेले धुलिखेल नगरपालिका–११ फस्कोटमा किबीखती गर्दै आएका छन् । रिसोर्ट सञ्चालन गर्ने सोच बनाएर २०५३ सालमा खरीद गरेको करीब २० रोपनी जग्गामा उनले १५ वर्षदेखि व्यावसायिक रुपमा किबीखेती गर्दै आएका छन् ।

‘वर्षेनी ८ हजारदेखि १० हजार किलोसम्म किबी फल्छ,’उनले भने । कृषि अनुसन्धानकर्तासमेत रहेका पाण्डेले अन्य खेती गर्न धेरै कोशिस गरेपनि सफल  भएन । ‘पहिला हलुवावेद र जापानी नास्पाती खेती पनि गरेँ, उत्पादन भएन,’ उनले भने । अहिले उनको खेतमा ४ सयको हाराहारीमा किबीको बोट छ ।

कामको चाप अनुसार कामदार राख्ने गरेको सञ्चालक पाण्डे बताउछन् । ‘वार्षिक रु १५ लाखदेखि रु २० लाखसम्म आम्दानी हुन्छ । लक्ष्य अनुसारको आम्दानी भइरहेको छ,’उनले भने, ‘बजार खोज्दै हिँड्नु परेको छैन, व्यापारी फार्ममै आउने गरेका छन् ।’ काठमाडौँबाट समेत किबीको माग आउने गरेको छ । किबी प्रतिकिलो रु २५० सम्ममा बिक्री हुने गरेको छ । ‘फलको आकारअनुसार ग्रेडिङ गरिन्छ । त्यही अनुसार बिक्री हुन्छ,’ पाण्डेले भने । उनले फलसँगै बिरुवासमेत उत्पादन गरेर बिक्री गर्दै आएका छन् । किबीखेती गर्न उनले हालसम्म रु ८० लाखसम्म लगानी गरेका छन् ।

किबीको एउटा बिरुवाको मूल्य रु ३ सय पर्छ । यसलाई असिना पानी र हावाहुरीबाट जोगाउनुपर्ने हुन्छ । ‘एक पटक लगाएको बोटले ५० वर्षसम्म फल दिन्छ,’ पाण्डेले भने । १ हजार मिटरदेखि ३ हजार मिटरको उचाइसम्म किबीखेती गर्न सकिन्छ । जिल्लाको नाला, तेमाल, पनौतीको बेहावर, कोशीपारिको चौवासलगायत ठाउँमा पछिल्लो समयमा किबीको व्यावसायिक रुपमा खेती गरिँदै आएको छ ।

प्रतिक्रिया दिनुहोस