विद्युत् चुहावटबाट रु ६४ लाख असुली « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

विद्युत् चुहावटबाट रु ६४ लाख असुली


प्रशासन संवाददाता

२२ पुस २०७५, आइतबार


राजविराज । नेपाल विद्युत् प्राधिकरण वितरण केन्द्र राजविराजले चालू आर्थिक वर्षमा करीब ४३ प्रतिशत विद्युत् चुहावट नियन्त्रण गर्न बाँकी रहेको जनाएको छ ।

सप्तरीमा गत वर्ष ५०.३ प्रतिशत चुहावट रहेकामा अहिले त्यसलाई झारेर ४३ प्रतिशतमा ल्याइएको प्राधिकरणका प्रमुख चन्द्रनारायण साहले बताए । उनका अनुसार चालू आवमा ३६ प्रतिशतमा विद्युत् चुहावट झार्ने लक्ष्य रहेकाले सो अभियानलाई निरन्तरता दिइ जिल्लाको बिजुली बत्तीलाई नियमित र व्यवस्थित गर्नेतर्फ प्राधिकरण लागेको छ ।

स्थानीय निकायले प्रयास गरे जिल्लामा जनताले नियमित विद्युत् सेवा पाउने र चुहावटलाई नियन्त्रण गर्ने सकिने उनको भनाइ थियो । स्थानीय निकाय ऐनले पनि स्थानीय तहलाई बिजुली चुहावट नियन्त्रण गर्ने अधिकारसमेत रहेकाले सो बमोजिम बिजुली चुहावट गर्नेलाई कार्बाही गर्न सकिने उनले बताए ।

सप्तरीमा यस वर्ष चुहावट नियन्त्रण गर्ने क्रममा राजविराज, रूपनी, कल्याणपुर, हनुमाननगर, कञ्चनपुरलगायत ठाउँबाट गरेको अनुगमनले ७५ वटा मिटरमा कार्बाही गरिएको छ ।

आव २०७५/७६ को साउनदेखि हालसम्ममा सो मिटर कार्बाहीबाट रु १३ लाख ४० हजार १४४ असुली भएको उनले जानकारी दिए । यस्तै हुकिङ नियन्त्रण अभियानअन्तर्गत ४०० जनालाई कार्बाही गरिएको छ । सो कार्बाहीबाट रु ५० लाख ६० हजार १५० असुल गरी ६४ लाख २९४ असुली गरेको प्रमुख साहले बताए ।

Tags :
प्रतिक्रिया दिनुहोस