प्रधानमन्त्रीद्धारा फोहर पानी प्रशोधन केन्द्र शिलान्यास « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

प्रधानमन्त्रीद्धारा फोहर पानी प्रशोधन केन्द्र शिलान्यास


प्रशासन संवाददाता

१९ पुस २०७५, बिहिबार


ललितपुर । प्रधानमन्त्री केपी शर्मा ओलीले बालकुमारीस्थित फोहरपानी प्रशोधन केन्द्रको शिलान्यास गरेका छन् ।

खानेपानी तथा सरसफाइ मन्त्रालयले आगामी ५ वर्षमा सो योजना सक्ने लक्ष्य राखेको छ । काठमाडौँ उपत्यकामा गृहोश्वरी, सल्लाघारी, बालकुमारी (कोड्कु) र सुन्दरीघाटमा प्रशोधन केन्द्र छन् ।

सो अवसरमा प्रधानमन्त्री ओलीले साता दुई साता लम्बिए पनि मेलम्चीको पानी सक्दो चाँडो काठमाडौँ ल्याउन सरकार लागिपरेको जानकारी दिए । उनले भने, ‘२७ वर्षसम्म चिप्लेकीराको गतिमा काम भए पनि अहिले गति लिएको छ ।’ एक प्रसङ्गमा उनले भारतमा बग्ने गङ्गा नदीमा हिउँदमा ७२ प्रतिशत नेपालबाट बगेका पानी भएको र त्यसले विहार र उत्तर प्रदेशलाई समेत मरुभूमि हुनबाट बचाएको बताए ।

सो अवसरमा खानेपानी तथा सरसफाइमन्त्री बीना मगरले केन्द्रमा पानीलाई प्रशोधन गरेर विभिन्न कामका लागि प्रयोग गर्न सकिन्छ भने फोहर पानीको अरु सम्भावना पनि उत्तिकै रहेको बताए । उनले भने, ‘ यसबाट विद्युत् उत्पादन र मलको पनि उत्पादन हुन सक्छ ।’

मन्त्रालयका सचिव गजेन्द्रकुमार ठाकुरले मृतावस्थामा रहेका नदीलाई ब्यूँताउन मन्त्रालयले काम शुरु गरेको बताउँदै देशभरका शहरी क्षेत्रमा खानेपानी वितरणसँगै ढल व्यवस्थापन भइरहेको जानकारी दिए ।

ललितपुर महानगरपालिकाका प्रमुख चिरीबाबु महर्जनले केन्द्रबाट दुर्गन्ध फैलिँदैन भनेर स्थानीयवासीलाई विश्वास दिलाइएको र सुन्दरीघाटमा पनि केन्द्र निर्माणका लागि स्थानीयवासीसँग छलफल भइरहेको जनाए । आयोजना कार्यान्वयन निर्देशनालयका आयोजना निर्देशक तिरेशप्रसाद खत्रीले मेलम्चीको पानी उपत्यका भित्रिएपछि खानेपानीको समस्या हल भए पनि फोहरपानीको मात्रा बढ्ने औँल्याए ।

प्रतिक्रिया दिनुहोस