काठमाडौँ । राष्ट्रिय योजना आयोगका सदस्य राम कुमार फुयाँलले तथ्यांकीय क्षेत्रमा केन्द्रीय तथ्याङ्क विभागको महत्त्वपूर्ण स्थान रहेको बताएका छन् ।
केन्द्रीय तथ्याङ्क विभाग स्थापनाको ६० औँ वार्षिकोत्सव कार्यक्रममा बोल्दै फुयाँलले सो धारणा राखेका हुन् ।
विभिन्न निकायहरुद्धारा उत्पादन गरिएका तथ्याङ्कहरू पनि विभागले प्रमाणीकरणको व्यवस्था गर्नुपर्ने बताउँदै फुयाँलले विभागको प्राविधिक छवि सुधार्न साधन श्रोतको अभाव हुन नदिने बताएका छन् ।
राष्ट्रिय योजना आयोगका सचिव लक्ष्मण अर्यालले तथ्याङ्क ऐन संशोधन, नेपाल आर्थिक योजना तथा तथ्याङ्क सेवाको विस्तार अपरिहार्य रहेको बताएका छन् ।
जनता, मुलुक, विकास निर्माणका लागि ७६१ वटै सरकारका लागि आवश्यक तथ्याङ्कको उपलब्ध गराउने विभागको प्रमुख कर्तव्य रहेको छ सचिव अर्यालले भने, उपलब्ध तथ्याङ्कहरू प्रयोगकर्ता मैत्री बनाई जिडिपिको आकलन प्रदेश स्तर सम्म गर्नुपर्छ ।
उनले राष्ट्रिय जनगणना २०७८ र नेपाल जीवनस्तर सर्वेक्षणका लागि विश्वमा मान्यताप्राप्त प्रविधिहरू प्रयोग गरी गुणस्तरीय तथ्याङ्क उत्पादन गर्नुपर्ने चुनौती रहेको बताए ।
कार्यक्रममा आफ्नो मन्तव्य राख्दै त्रिभुवन विश्वविद्यालय तथ्याङ्कशास्त्र केन्द्रीय विभागका विभागीय प्रमुख प्रा.डा.शङ्कर खनालले विकसित देशहरूमा तथ्यांकीय जनशक्ति विकासको मुख्य आधारको रूपमा कार्य गर्दै आइरहेकोमा नेपालमा ईभिडेन्स वेस्ट प्लानिंगको अभावमा तथ्यांकीय जनशक्ति राज्यले महत्त्व नदिएको र तथ्याङ्क विषयलाई आवश्यक मात्रामा प्रयोग गर्न नसकेको बताए ।
कार्यक्रमको समापन गर्दै विभागका महानिर्देशक सुमनराज अर्यालले समयअनुसार प्रयोगकर्ताको माग पनि परिवर्तन हुने भएकाले बदलिँदो परिस्थिति अनुसार विभिन्न क्षेत्रको तथ्याङ्क उपलब्ध गराउँदै आएको बताए ।
कार्यक्रममा ‘योजना, तथ्याङ्क र विकास’ शीर्षकमा निबन्ध लेखन प्रतियोगिताका विजेताहरूलाई पुरस्कार वितरण गरिनुका साथै विभाग तथा अन्तरगतका कर्मचारीहरूबाट २ जना उत्कृष्ट कर्मचारी छनौट गरी सम्मान समेत गरिएको थियो ।
निबन्ध लेखन प्रतियोगितामा पुरस्कृत हुनेहरूमा प्रथम राजन सिलवाल, द्धितिय तीर्थराज चौलागाँई र तृतीय सविता अर्याल रहेका छन् भने उत्कृष्ट कर्मचारीको रूपमा सम्मान पाउनेहरूमा विभागमा कार्यरत निर्देशक वीरेन्द्र कायस्थ र तथ्याङ्क कार्यालय मकवानपुरका तथ्याङ्क सहायक विष्णु प्रसाद अधिकारी रहेका छन् ।
कार्यक्रममा राष्ट्रिय योजना आयोग, तथ्याङ्कशास्त्र केन्द्रीय विभाग, त्रिभुवन विश्वविद्यालयका विभागीय प्रमुख, विभागका पूर्व उपमहानिर्देशक तथा विभिन्न निकायहरूमा कार्यरत तथ्याङ्क शास्त्रीहरू गरी करिब १०० जनाको उपस्थिति रहेको थियो ।
जनतालाई अधिक मात्रामा ठोस हित हुने नीति निर्धारण गर्न, सरकारी विभागहरूको प्रशासकीय नि पूर्णता बढाउन, मुलुकको आर्थिक गतिविधि बारे यथार्थ ज्ञान प्राप्त गर्न सरकारलाई यथार्थ आधार चाहिने र त्यस्तो आधार जुटाउन तथ्याङ्क सम्बन्धी कामको निमित्त एक केन्द्रीय विभागको स्थापनाको आवश्यकता देखी साबिक रहेको सङ्ख्या विभाग खारेज गरी सरकारले २०१५ पौष १७ गतेका दिनदेखि तत्कालीन अर्थ मन्त्रालय अन्तर्गत रहने गरी केन्द्रीय तथ्याङ्क विभागको स्थापना गरेका थियो ।







