काठमाडौँ । गृह मन्त्रालयले उपत्यका अन्तर्गत तीन जिल्लाका सिडियोसँग कार्यसम्पादन सम्झौता गरेको छ ।
गृह सचिव प्रेमकुमार राईले काठमाडौँका सिडियो रामप्रसाद आचार्य, ललितपुरका प्रेमराज जोशी र भक्तपुरका नारायणप्रसाद भट्टसँग आज गृह मन्त्रालयमा कार्यसम्पादन सम्झौता गरेका छन् ।
निजामती सेवा २०४९ को दफा १५.२ र निजामती सेवा निर्देशिका २०५० को नियक ३४ को (ख) तथा गृह प्रशासन सुधार कार्य योजना २०७४ को बुँदा नं २६ बमोजिम कार्यसम्पादन सम्झौता गरी जिम्मेवारी दिने व्यवस्था गरिएको गृह मन्त्रालयले जनाएको छ ।
शान्ति सुरक्षा र अमनयन, सुशासन र सेवा प्रवाह, सामाजिक सुधार र रूपान्तरण, विपत् व्यवस्थापन, समन्वय र सहजिकरण, सदाचार र आर्थिक अनुशासन गरी ६ बुँदामा प्रजिअको मूल्याङ्कन गरिनेछ ।
अन्तर्राष्ट्रिय सीमा जोडिएका जिल्लाहरूमा १०२ पुर्णाङ्क र सीमा नजोडिएका जिल्लाहरूमा ९९ पुर्णाङ्क रहने छ । प्रजिअले गरेका कामका आधारमा निश्चित कामका लागि निश्चित अङक प्रदान गरिने सम्झौतामा छ ।
गृह सचिव राईले पहिलो चरणमा तीन जिल्लाका प्रमुख अधिकारीसँग सम्झौता गरिएको जानकारी दिँदै केही दिनमै सबै जिल्लाका प्रमुख अधिकारी र मन्त्रालयका सबै विभागीय प्रमुखसँग सम्झौता गरिने बताए ।
उनले आवश्यकता अनुसार मन्त्रालयका विभागीय प्रमुख र प्रमुख जिल्ला अधिकारीले आफूभन्दा तलका अधिकारीसँग पनि कार्यसम्पादन सम्झौता गर्न सक्ने बताए ।
यसले काम गर्ने प्रमुख जिल्ला अधिकारीको पहिचान गर्न र मूल्याङ्कन गर्न सहज हुने गृह सचिव राईको विश्वास छ ।







