ए सरकार ! « प्रशासन
Logo ६ बैशाख २०८१, बिहिबार
   

ए सरकार !


प्रशासन विशेष ब्युरो

१४ पुस २०७५, शनिबार


ए सरकार !

ए सरकार !
म तिम्रो विरोध गर्दिन
तर मलाई परेको अन्याय !
बोल्न पाउने कि नाई ?

तिमीले नै राखेको
करारका शर्तहरु
स्वीकार गर्दै सेवामा आएँ ।
आज त्यही,
करार पत्रमा लेखिएका शर्तहरु
मैले जिकिर गर्न पाउँछु कि नाई ?

ए सरकार !
हिजो मात्र पी.आर. वाला
साथीले सोध्यो
के छ खबर ?
म के उत्तर दिऊँ ?
जसलाई तीन वर्ष पहिला
गर्विलो छातीले भनेको थिएँ
म डी.भि भर्दिन ।
मसँग मेरो राष्ट्रियता छ
साथमा सरकार छ ।

भन सरकार ! तिनलाई
आज म के उत्तर दिऊँ ?
म कायर होइन
आत्महत्याको प्रयास ?
अहँ कदापि गर्दिन ।
तर, नचाहेरै पनि
अफिस जाँदै र आउँदै गर्दा
अध्यादेशका अन्यायपूर्ण दफाहरू
दिमागमा भूत जस्तै सवार भई दिँदा
बाइक लर्खराउदो रहेछ ।
केही भई हाल्यो भने ?
हत्यारा को हुन्छ सरकार
म स्वयं ? तिमी ? कि परिस्थिति ?

ए सरकार !
म तिम्रो विरोध गर्दिन ।
तर मैले आफ्नै मृत्यु पत्रमा
हस्ताक्षर गर्दिन ।
भन्न पाउँछु कि नाई ?
भुतलक्षी कुनै कानुन हुँदैन
जान्दछौ त तिमी,
अनि फेरी
उधारो आश्वासन चाही किन ?

ए सरकार !
म तिम्रै सिपाही हुँ
जान तयार छु,
र गएको पनि छु
तिम्रै प्रतिनिधि भएर
देशको कुना कुनामा
जहाँ नागरिक
सरकार छ भन्ने
महसुस गर्न चाहन्छन्
तर,पहिला उत्साह भरिदेऊ
ता कि भित्रैबाट
जाँउ जाँउ लागोस्
मैले भन्न पाउने कि नाई ?
मनस्थिति नै हारेको सिपाही
मैदानमा खटाएर
कुन युद्ध जित्छु
भन्ने लाग्छ तिमीलाई ?

ए सरकार !
म तिम्रो विरोध गर्दिन ।
तर आफूलाई परेको पिर मर्का !
मैले भन्न पाउने कि नाई ?
मलाई अन्याय भयो !
मलाई मर्का पर्‍यो सरकार ।

शाखा अधिकृत नेपाल सरकार

प्रतिक्रिया दिनुहोस